Odapalika - The Fourth Estate - चौथो अंग
‘गरिखाने शिक्षा’का लागि काठमाडौँ महानगरले गर्यो काठमाडौँ विश्वविद्यालयसँग सम्झौता

काठमाडौँ । सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले काठमाडौँ विश्वविद्यालयसँग नीतिगत सम्झौता गरेको छ । 

मंसिर २५ गते भएको प्रमुखस्तरीय निर्णयअनुसार उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको रोहवरमा शिक्षा अधिकारी सीताराम कोइराला र विश्वविद्यालय स्कूल अफ एजुकेसनका डीन प्राडा. बालचन्द्र लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

महानगरपालिकाले चालु आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य हो । योजनामा टिचर कलेज कार्यक्रम समावेश छ । यो कार्यक्रममा शिक्षकहरुको क्षमता विकास तालिम उपलब्ध गराइने महानगरले जानकारी दिएको छ । शिक्षकसँगै शैक्षिक गुणस्तर सुधारमा योगदान गर्न चाहने व्यक्तिहरु सहभागी हुन सक्नु हुनेछ । यसरी सञ्चालन हुने तालिममा दिइने प्रमाण पत्रलाई वृत्ति विकासका लागि योग्यता मानिनेछ । 

सम्झौता बमोजिम शिक्षामा सिप, पुस्तकरहित शुक्रबार तथा बाल सञ्जाल गठन तथा सशक्तिकरण, शिक्षक विद्यार्थीको प्रविधिमैत्री सिप विकास कार्यक्रम, शिक्षण सिकाइ पेडागोजीमा सुधार, विद्यार्थीको नतिजा सुधार र प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नतिका लागि सहकार्य हुनेछ । कार्यक्रम विश्वविद्यालयको स्कूल अफ एजुकेसनमार्फत कार्यान्वयनमा आउनेछ । 

टिचर कलेज कार्यक्रम महानगरपालिकाको नयाँ कार्यक्रम हो । यसमा विद्यालयका शिक्षक तथा संलग्न जनशक्तिको दक्षता बढाउन तालिम सञ्चालन हुनेछ । यसरी सञ्चालन भएका तालिमबाट प्राप्त गरेको अङ्कका आधारमा योग्यता निर्धाण हुनेछ । यसका लागि छोटो अवधिको पाठ््यक्रम तयार पारिने महानगरको भनाइ छ । 

जनशक्तिको क्षमता विकासका क्षेत्र र आवश्यकता पहिचान गर्ने, पाठ््यक्रम र शिक्षण सिकाइ विधि तयार पार्ने स्कूल अफ एजुकेसनले गर्नेछ । यसका लागि आवश्यक पर्ने समय, जनशक्ति तथा अन्य प्रशासनिक खर्चको लागत अनुमान तयार पारेपछि कार्यक्रमगत सम्झौता हुनेछन् । 

सम्झौतापछि बोल्दै उपप्रमुख डंगोलले, असल नागरिक उत्पादन गर्न महानगरपालिकाले शिक्षा सुधारका लागि लगानी गरेको बताइन् ।

‘हामीले तयार पारेका कार्यक्रम तत्काल कार्यान्वयन गर्न चाहन्छौँ । यसबाट नीतिमा सुधार गर्नु पर्ने कुनै अवस्था देखियो भने सुधारको अवसर प्राप्त हुनेछ । एउटा होइन, सबै सामुदायिक विद्यालय नमूना हुनुपर्छ । नानीबाबुलाई विद्यालय पठाउने बेला हरेक अभिभावकको मनमा सामुदायिक विद्यालयको चित्र आउने बनाउनुपर्छ,’ उपप्रमुख डंगोलले भनिन् ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले शैक्षिक सुधार कार्यक्रमसँगै विद्यालयको पूर्वाधारका लागि हरित विद्यालय कार्यक्रम कार्यान्वयनमा रहेको जानकारी दिए ।

‘शैक्षिक क्रियाकलाप र पूर्वाधार दुवै क्षेत्रको सुधारबाट विद्यार्थीलाई व्यवहारिक र जीवनउपयोगी शैक्षिक वातावरण प्रदान गर्ने लक्ष्यमा साझेदारी गरेका हौं,’ उनले भने ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. थापाले जीवन उपयोगी शिक्षाका लागि काठमाडौँ महानगरले गरेको स्थापित गरिदिएको बताए ।

‘सिकाइ जहाँ पनि हुन्छ । कक्षा कोठामा किताब पढेर मात्र योग्यता निर्धारण हुने होइन । व्यवहारिक र जीवनउपयोगी शिक्षाका लागि सिकाइका तरिका अनेक हुन सक्छन् । यसरी प्राप्त गरेको ज्ञानलाई अङ्क दिएर योग्यता निर्धारणसँग जोड्ने कामलाई महानगरपालिकाले स्थापित गरिदिएको छ । व्यक्ति, समुदाय र देशको उन्नतिका लागि परम्परागत तथा रैथाने ज्ञान र छोटो अवधिको तालिमबाट प्राप्त अङ्कका आधारमा योग्यता निर्धारण गर्नुपर्छ । यसले व्यक्तिको उत्पादनशीलता बढाउँछ । काममा प्रोत्साहित गर्छ,’ उपकुलपति डा. थापाले भने ।

महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा २ हजार २०२ जना शिक्षकले अध्यापन गराउँछन् । शिक्षा विभागका प्रमुख कोइरालाले सामुदायिक शिक्षाको स्तर उकास्दै संस्थागत विद्यालयमा पनि कार्यक्रम लैजानु पर्ने आवश्यकता रहेको बताए ।

सम्झौता हुनु अगाडि सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले महानगरपालिकाले अहिले सञ्चालन गरिरहेका शैक्षिक प्रयासका बारेमा प्रस्तुतिकरण गरेका थिए । उनका अनुसार सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि हुने क्रममा छ । त्यहाँ अध्ययनरत करिब १५ प्रतिशत विद्यार्थीको अवस्था कमजोर छ । सामाजिक र आर्थिक रुपमा कमजोर तथा सीमान्तकृत परिवारका बालबालिका यस वर्गमा छन् । उनीहरुका बारेमा फरक तरिकाबाट सोच्नुपर्ने अवस्था छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update