Odapalika - The Fourth Estate - चौथो अंग
मेयर र उपमेयरबीचको विवादले बीरगञ्ज महानगरपालिकाभित्र कुटाकुट

काठमाडौँ । वीरगन्ज महानगरपालिकाभित्र कुटाकुट भएको छ ।

मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम समर्थकबीचको विवादले उग्र रुप लिँदा आज (मंगलबार) कुटाकुट भएको हो ।

महानगरपालिका कार्यालयमा कार्यकक्षको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको हो ।

विवादको विषय भने उपमेयर आलमले निकालेका थिए । पहिले प्रमुख कार्यकारी अधिकृतको कार्यालय माथिल्लो तलामा सरेपछि खाली भएको कोठामा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सार्ने योजना मेयर सिंहले बनाएका थिए ।

मेयर सिंहको लागि नयाँ कार्यकक्ष बनेपछि मेयरले पहिला प्रयोग गरेको कार्यकक्ष प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने र प्रमुख प्रशासकीय अधिकृतले पहिला प्रयोग गरेको कार्यकक्षमा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सार्ने योजना मेयर सिंहको थियो ।

महानरले जेष्ठ नागरिक लगायतलाई प्रदान गर्ने सामाजिक सुरक्षा सेवा सोही विभागबाट संचालन हुन्छ । सो विभागको कोठा साघुरो भएपछि पहिला प्रमुख कार्यकारी अधिकृत बस्ने कोठामा सार्ने योजना मेयरको थियो ।

तर, उपमेयर आलमको कार्यकक्ष पनि प्रमुख कार्यकारी अधिकृतको पहिला कार्यकक्ष रहेको ठाउँसँगै भुइतलामा नै थियो । प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले उपमेयर आलमलाई टेलिफोन गरी कार्यकक्ष सार्ने विषयमा जानकारी गराएका थिए ।

यस्तो जानकारी उपमेयर आलमले पाएपछि उनको सचिवालयका कर्मचारी आएर सो स्थानमा उपमेयर आलमको कार्यकक्ष राख्ने भन्दै बोर्ड नै झुन्ड्याएका थिए । र, सोही अवसरमा विभिन्न वडाका वडाध्यक्ष र मेयर तथा उपमेयरका समर्थक पनि आएका थिए ।

यसरी भिड जम्मा भएपछि विवादले उग्र रुप लिएको हो । सोही क्रममा हात हालाहाल समेत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उपमेयर आलमले भने सो विषयमा खासै जानकारी दिन चाहेनन् ।

‘म अहिले भिडभाडमा छु, पछि कुरा गर्छु,’ आज के भएको हो भन्ने वडापालिकाको प्रश्नमा उपमेयर आलमले भने ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने सामान्य विवाद भएको र अहिले अवस्था सामान्य बनिसकेको बताए ।

‘केही समस्या जस्तो देखिएको थियो । सामान्य भनाभन भएको हो । तर, अब स्थिति सामान्य भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत भट्टराईले वडापालिकासँग भने ।

सो महानगरमा गत निर्वाचनमा अहिलेको सत्ता गठबन्धन एक भएर चुनाव लडेको थियो । महानगरको मेयरको उम्मेदवार जनता समाजवादीले पाएको थियो भने उपमेयर पद नेपाली काँग्रेसले पाएको थियो । सोही अनुसार मेयरमा जसपा उम्मेदवार सिंह विजयी भएका थिए भने उपमेयरमा काँग्रेस उम्मेदवार आलम विजयी भएका थिए ।

अहिले संघीय सरकारमा पनि नेपाली काँग्रेस र जसपा सत्ता गठबन्धनमा सहभागी छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update