Odapalika - The Fourth Estate - चौथो अंग
बीरगञ्ज महानगरका उपमेयरबिरुद्ध कर्मचारी आन्दोलित, कारबाही नभए आजबाट आन्दोलन

बीरगञ्ज । कर्मचारीमाथि उपप्रमुखसहितको टोलीले अभद्र व्यवहार गरेको भन्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन् ।

स्थानीय तह कर्मचारी संघ वीरगञ्ज महानगर एकाइ समितिले महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै आजबाट कालोपट्टी बाँधेर विरोधको कार्यक्रम सुरु गर्ने जानकारी दिएकाे छ ।

समितिले महानगरमा विभिन्न महाशाखा शाखाहरूमध्ये स्वास्थ्य तथा सामाजिक विकास महाशाखाअन्तर्गतको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखालाई व्यवस्थित गर्न लाग्दा प्रमुख प्रशासकीय अधिकृतमाथि नै कार्यपालिका सदस्य समेत रहेका कन्हैया ठाकुरले गालीगलौज गर्दै अभद्र व्यवहार गरेको प्रति खेद व्यक्त गर्दै आन्दोलन गर्न बाध्य भएको जनाएको छ ।

यस्तै पञ्जीकरण शाखा व्यवस्थित गराउन लागेका कर्मचारीहरू अमृता शास र रनु दासलाई पनि उपप्रमुख आलमको स्वकीय सचिव रहेका शेष हजराले अश्लील गालीगलौज गर्दै अभद्र व्यवहार गरेको भन्दै एकाइ समितिले मेयरको ध्यानाकर्षण गराएको छ । 

उपप्रमुखकै सचिवालयमा कार्यरत कर्मचारी (शिक्षक) रविनन्दन सिंहले समेत कृषि शाखामा कार्यरत कृषि अधिकृत रोशनी यादवलाई पटक पटक डर, धाक धम्की दिँदै गालीगलौज गर्ने गरेको घटना निन्दनीय रहेको पनि एकाइ समितिले जनाएको छ ।

उपप्रमुख र उनको सचिवालयको टोलीले प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरूलाई अभद्र व्यवहार गर्ने गरेकाले आफूहरू बाध्य भएर आन्दोलित हुनु परेको एकाइ समितिका अध्यक्ष मुकेश गुप्ताले बताए ।

उपप्रमुख तथा उनको सचिवालय सदस्यहरूको कार्यशैलीको विरोधमा बुधवार र बिहीबार २ दिन हातमा कालो पट्टी बाँधेर काम गर्ने र त्यस पछि पनि समस्याको निकास ननिस्किए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष गुप्ताले बताए ।

महानगरका सम्पूर्ण कर्मचारीहरूको मान मर्दन तथा असुरक्षित भएको महसुस हुन आएकाले बाध्य भएर विरोधमा उत्रनु परेको भन्दै गुप्ताले यसलाई तत्काल निकास दिन पनि उनले प्रमुख सिंहसँग आग्रह गरे ।

महानगर प्रमुखलाई ज्ञापन पत्र बुझाउन एकाइ समितिका अध्यक्ष गुप्ता सहित उपाध्यक्ष सुधीर जङ्ग राणा, सचिव पवन प्रधान, सहसचिव मन्जित यादव, सुभद्रा बन्जारा लगायतको टोली पुगेको थियो ।

मंगलबार पञ्जीकरण शाखा व्यवस्थित गर्ने विषयमा उपप्रमुखसहित उनको सचिवालयको टोली र वडाध्यक्षहरूबीच विवाद भएको थियो । मेयर राजेशमान सिंहको निर्देशनमा शाखा विस्तार र व्यवस्थापनको कार्य जारी रहदा उपमेयर प्रवेश गरेर कोठमामा ताला लगाएपछि सुरु भएको विवादले उग्र रुप लिदै गएपछि महानगरको कार्यपालिका बैठक बोलाइएको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताएका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update