Odapalika - The Fourth Estate - चौथो अंग
नदीजन्य पदार्थकाे  अवैध उत्खनन् र ढुवानी गर्ने ५६ वटा ट्रक पोखरा महानगरको कारबाहीमा 

पोखरा । गैरकानुनी रूपमा नदीजन्य पदार्थको उत्खनन् र ढुवानीमा संलग्न मालवाहक सवारीलाई पोखरा महानगरपालिकाले कारबाही थालेको छ । यस्ता मालवाहक सवारीलाई कास्की प्रहरीले मंगलबार विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । 

नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा बोकेका ५६ मालवाहक सवारी कास्की प्रहरीले नियन्त्रणमा लिई आवश्यक छनविनका लागि महानगरपालिका पठाएको जनाएको छ । 

गैर कानुनी रूपमा नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार भएको, कुनै पनि बिलबिजक जारी नभएको, कतिपय फर्जी बिलबिजक जारी भएको लगायत भेटिएपछि ती सवारीलाई विशेष अपरेसन चलाएर नियन्त्रणमा लिइएको कास्की प्रहरीका प्रमुख मोहन कुमार थापाले बताए ।

महानगरपालिकाले आवश्यक कागजात विना ओसारपसारमा संलग्न सवारीलाई जरिमाना गरेको छ भने बिलबिजक प्रमाणीकरणका लागि आन्तरिक राजश्व कार्यालय पोखरामा पठाएको छ । 

वैधानिक बिलबिजक भएका सवारीलाई त्यसको प्रमाणीकरण गरी छोड्न र गैरकानुनी भए थप कारबाहीका लागि पुनः महानगरपालिका पठाउन अनुरोध गरिएको महानगरपालिकाका सूचना अधिकारी कृष्ण तिवारीले जानकारी दिए ।

यसैबीच, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सुरक्षा निकायका प्रमुखहरू समेतको उपस्थितिमा भएको छलफल पछि गैरकानुनी ओसारपसार र उत्खनन् रोक्न महानगरले सूचना नै जारी गरेको छ । 

नदीजन्य पदार्थहरूको ओसारपसार तथा विक्री वितरण गर्दा मिति, समय, ढुवानी हुने सवारी नम्बर, विल नम्बर खुलेको हुनुपर्ने र चलानी पुर्जा साथैमा बोक्नुपर्ने सूचनामा उल्लेख छ ।

प्यान र भ्याट नम्बर स्पष्ट भएको विल, पोखरा महानगरसँग आय ठेक्का सम्झौता भएका घाटहरूको सम्बन्धमा क्रसर उद्योगसम्म नदीजन्य सामाग्रीहरू ढुवानी गर्दा महानगरपालिकाबाट जारी भएको कार्यादेश र चलानी पुर्जा अनिवार्य बोक्न महानगरले निर्देशन दिएको छ । 

नदीजन्य सामाग्री वार्षिक ५० लाख रुपैयाँसम्मको कारोबार गर्ने क्रसरहरूले प्यान तथा सो भन्दा माथिको कारोबार गर्नेहरूको हकमा अनिवार्य भ्याट विल आवश्यक पर्ने भएकाले सोही अनुसार गर्न गराउन महानगरपालिकाले निर्देशन दिएको छ । 

चेकजाँचको क्रममा विल तथा चलानी पुर्जा नभएका ५६ सवारी कास्की प्रहरीले नियन्त्रणमा लिई महानगरपालिका पठाएको थियो । प्रहरीका अनुसार बगरबाट २०, बैदामबाट ५, सिसुवाबाट २३ र रामबजार बाट ८ वटा नदीजन्य सामग्री सहितका ट्रक, टिप्पर र ट्याक्टरहरू नियन्त्रणमा लिइएको हो । 

तिनीहरू मध्ये एउटा सवारीलाई महानगरपालिकाको आर्थिक ऐन अनुसार जरिमाना सहितको कारबाही गरिएको छ भने, ५५ वटा मालवाहक सवारीलाई थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय पठाइएको महानगरपालिकाका सूचना अधिकारी तिवारीले जानकारी दिए । 

pokhara1702439223.jpg

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update