Odapalika - The Fourth Estate - चौथो अंग
यसरी लिन सकिन्छ स्थानीय तहबाटै श्रम स्वीकृति

बाँके । सरकारले वैदेशिक रोजगारीमा जानेलाई स्थानीय तहबाटै श्रम स्वीकृति दिने निर्णय गरेपछि बाँकेका स्थानीय तहमा श्रम स्वीकृति लिनेको चाप वढ्न थालेको छ । 

जिल्लाका ८ मध्ये अधिकांश स्थानीय तहले श्रम स्वीकृति दिन थालेपछि स्थानीयहरु पालिका पुगन थालेका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अब स्थानीय तहबाटै श्रम स्वीकृतिका काम हुन्छन् । यसअघि यस्तो स्वीकृति लिन संघीय राजधानी धाइराखनुपर्ने बाध्यता थियो । 

बाँकेका नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका र नरैनापुर गाउँपालिकाले श्रम स्वीकृति दिन थालेका छन् । 

नेपालगंज उपमहानगरपालिकाको रोजगार प्रवद्र्धन सेवा केन्द्रले सेवा सुरु गरेपछि १३ जनाको श्रम स्वीकृति दिइसकेको छ । जापान, कतार, साउदी अरब र कुवेतका लागि श्रम स्वीकृति माग्न आउने संख्या वढी रहेको नेपालगञ्ज उपमहानगरपालिकाका रोजगार सहायक अनुप बर्मा बताउँछन् । 

अहिलेपनि धेरैलाई स्थानीय तहबाटै श्रम स्वीकृति पाउन सकिन्छ भन्ने थाहा नभएकै कारण वडावडामा यसको प्रचार प्रसार हुनुपर्ने आवश्यकता छ । 

स्थानीय तहहरुले रोजगार प्रवद्र्धन सेवा केन्द्रमार्फत विदेशमा मृत्यु भएकाको शव नेपाल ल्याउनसमेत सहयोग र सहजीकरण गरिरहेका छन् । 

नेपालगंज उपमहानगरपालिकाको सेवा केन्द्रले गरेको सिफारिसका आधारमा मात्र वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ८ जना र घाइते भएका ११ जनाले वैदेशिक रोजगार बोर्डबाट क्षतिपूर्ति पाइसकेको उपमहानगरका कमृचारहिरु बताउँछन् । 

जानकी गाउँपालिकामा पनि वैदेशिक रोजगारमा जान चाहनेलाई श्रम स्वीकृति दिन सुरु गरिएको छ । अहिलेसम्म कुनै सेवाग्राहीले उक्त सुविधा नलिएको जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी बताउँछन् । स्थानीय यसवारे बेखबर बन्दा सेवाग्राही काठमाडौंसम्म पुग्ने गरेको उनको भनाइ छ । 

वैजानाथ गाउँपालिकामा पनि १५ जनाले  श्रम स्वीकृति लिइसकेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा श्रम स्वीकृतिको प्रक्रिया अघि बढेको छ भने नरैनापुर गाउँपालिकाले सबै प्रकृया पुरा गरेर सेवा दिन थालिसकेको छ । 

१ बैशाख २०८० बाट स्थानीय तहबाटै श्रम स्वीकृति दिन सकिने व्यवस्था मिलाइएको छ । यसका लागि सरकारले सात सय ५३ स्थानीय तहमा रोजगारसम्बन्धी सेवा प्रवाहमा सहजीकरण गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गरेको छ ।  केन्द्रमा रोजगार संयोजक र रोजगार सहसंयोजक गरी २ जना कर्मचारीको दरबन्दी उपलब्ध गराइएको छ ।

विदेशमै श्रम स्वीकृतिको अवधि समाप्त भएका श्रमिकहरूले विदेशबाटै कूटनीतिक नियोग तथा अनलाईनमार्फत श्रम स्वीकृति लिन सक्ने व्यवस्था छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update