Odapalika - The Fourth Estate - चौथो अंग
रिक्सा र ठेलामा प्रतिबन्ध लगाउने काठमाडौँ महानगरको तयारी 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र अटो रिक्सा, इ रिक्सा र ठेलामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । 

२६४ ठाउँमा बस विसौनी निर्माण गर्ने योजना बनाएको महानगरले साना व्यवासायीले प्रयोग गर्दै आएका साधनमाथि नियन्त्रण गर्ने तयारी थालेको हो । 

यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ । 

यससँगै दैनिक उपभोग्य बस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ्ग व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछन् । 

२९औँ महानगर दिवस २०८० का अवसरमा आज महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा यस सम्बन्धी जानकारी दिइएको हो । 

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै सम्बद्ध कार्यालयहरुसँग सहकार्य अगाडि बढाइएको बताए । काठमाडौँमा अटो रिक्सा, इरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने उनको भनाइ छ ।

अन्तरक्रियामा प्रस्तुतिकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए ।

बागमती, विष्णुमती, धोवीखोला र मनोहरा करिडोरलाई दुईतर्फी सञ्चालन गराउन पाए सवारी चाप गराउन सकिने बताउँदै पोखरेलले, यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको बताए ।

यातायात प्रणाली सुधारका विषयमा प्रस्तुतिकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले, संकेत चिन्हहरु मिलाउन तत्काल काम थाल्नुपर्ने बताए ।

महानगरका अनुसार यस बर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट्याएर काम भइरहेको छ । अन्तरक्रियामा विभिन्न ट्राफिक पोष्टमा बसेर काम गरिरहेका इञ्चार्जहरुले आफ्नो क्षेत्रको अवस्थामा विषयमा जानकारी गराएका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update