Odapalika - The Fourth Estate - चौथो अंग
पत्रकार साह भन्छन्– रिजल्ट नै आएको छैन, मेरो छोरो कसरी फेल हुनु !

काठमाडौँ । नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष समेत रहेका पत्रकार गणेशप्रसाद साहले नगरपालिकाले संचालन गरेको परीक्षाको नतिजा (रिजल्ट) नै प्रकाशित नभएकोले आफ्नो छोरो फेल भएको भन्ने विषय सान्दर्भिक नभएको बताएका छन् ।

सिरहाको गोलबजार नगरपालिकाले मंसिर ९ गते लिएको लिखित परीक्षामा पत्रकार साहका छोरा राजाबाबु साह पनि सहभागी भएका थिए । तर, सो परीक्षाको क्रममा आफ्ना छोरालाई परीक्षामा असफल गराउने उदेश्यसहित १५ मिनेटसम्म कपि नियन्त्रणमा लिएकोले सो परीक्षा रद्द गर्नुपर्ने मागसहितको ज्ञापनपत्र पत्रकार साहले नगरपालिकालाई बुझाएका थिए ।

पत्रकार साहले ज्ञापनपत्र बुझाएपछि मंसिर १३ गते वडापालिका डटकमले ‘छोरो फेल भएपछि परीक्षा नै रद्द गर्न पत्रकार महासंघका उपाध्यक्षको ज्ञापनपत्र, माग पूरा नभए आमरण अनसन बस्ने’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सो समाचारमा उल्लेख भएको सन्दर्भप्रति लक्षित गर्दै पत्रकार साहले टेलिफोनमा वडापालिकासँग भने– परीक्षाको नतिजा नै प्रकाशित भएको छैन, नतिजा नै प्रकाशित नभएकोले मेरो छोरो फेल भएको भन्ने सन्दर्भ नै मिलेन ।

यद्यपि, उनले सो परीक्षामा आफ्नो छोरालाई फेल गराउने उद्देश्यले कपि नियन्त्रणमा लिएको दाबी भने दोहोर्याए । उनले मंसिर १३ गते नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै आफ्ना ३ बुँदे माग पूरा नभए मंसिर १७ गतेदेखि नगरपालिकाको प्रांगणमा आमरण अनसन बस्ने उल्लेख गरेका थिए । तर, अहिलेसम्म उनका माग पूरा भएका पनि छैनन् भने उनी आमरण अनसन पनि बसेका छैनन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update