Odapalika - The Fourth Estate - चौथो अंग
लोकतान्त्रिक आवाज दबाउन मेयर चिरिबाबुका ‘भिजिलान्ते’

ललितपुर । विश्वभर मानवअधिकार दिवस मनाइरहदा (१० डिसेम्बर अर्थात २४ मंसिरमा) ललितपुर महानगरपालिकाले भने लगनखेलदेखि मंगलवारजसम्मका फुटपाथ व्यवसायीका रोजीरोटी खोस्दै व्यापार गर्न प्रतिवन्ध लगायो । 

काठमाडौँ महानगरपालिकाको सिको गर्दै ललितपुरले साना व्यवसायीलाई निषेध गरेपछि अभियन्ता ईः ले १०८ मिनेट उभिएर यो निर्णयको विरोध गर्ने घोषणा गरे । 

घोषणा अनुसार मंगलवार ईः उनका केही समर्थक लिएर पुल्चोकस्थित महानगरपालिका परिसरमा उभिन पुगे । 

घटना यहाँसम्म लोकतान्त्रिक नै छ । महानगरले निर्णय गर्ने, चित्त नबुझ्ने पक्षले यसको विरोध गर्ने सामान्य प्रक्रिया हो । तर महानगरको निर्णयविरुद्ध उभिएका ईः माथि स्थानीयबासीका नाममा जे व्यवहार भयो, त्यसले भने लोकतन्त्रको मात्र होइन, मानवअधिकार र स्थानीय सरकारमाथि जनताको भरोसामा प्रश्न उठाएको छ । 

गम्भीर कहाँनेर छ भने ललितपुर महानगरपालिकाले फुटपाथ व्यवसाय गर्न नदिने भनेर न व्यवसायीलाई महानगरको आधिकारिक निर्णय दियो, न महानगरको आधिकारिक वेबसाइटमा नै यो सूचना भेटिन्छ । 

महानगरको वडा नम्बर १२ र १९ नम्बर वडा कार्यालयको नाममा बनाइएको एउटा पर्चामा मंगलबजारदेखि लगनखेल क्षेत्रका फुटपाथमा पसल राखे हदैसम्मको कारवाही गरिने उल्लेख छ । 

वडा नम्बर १९ को अर्को पर्चामा भने वडाभर ठेलागाडा, रिक्सा तथा साइकलमा व्यापार गर्न नपाइने र गरे कारवाही गरिने उल्लेख छ । 

हेर्नुहोस् सूचना 

lapu1702462187.jpg

पहिलो कुरा, महानगरका आधिकारिक व्यक्तिहरुलाई पत्याउने हो भने मंगलबजारदेखि लगनखेल क्षेत्रका सडक पेटीमा मात्र फुटपाथ व्यवसायमा रोक लगाइएको हो । तर वडा नम्बर १९ को सूचनामा भने वडाभर साइकल, ठेला र रिक्सामा गरिने व्यापारमा प्रतिवन्ध भनिएको छ । र, दुबै सूचनामा यस्तो व्यवसाय गरेको पाइए नगर प्रहरीलाई खबर गर्न भनिएको छ । 

महानगरले फुटपाथका पसल हटाउने निर्णय नै गरेको भए वडा नम्बर १९ ले के आधारमा साइकल र ठेलामा व्यवसाय गर्न नदिने भन्दै पर्चा जारी गरेको हो? यसको उत्तर सम्वन्धित वडाले दिनुपर्छ । होइन भने सम्वन्धित वडा कार्यालयलाई नगरपालिकाको निर्णय उल्लंघन गरेको अभियोगमा कारवाही हुनुपर्छ । 

हो, सार्वजनिक सडक मिचेर व्यवसाय गर्न दिनु हुँदैन । तर साइकल र ठेलामा नगरका भित्री भागमा घरघरमा सेवा दिइरहेका साना व्यवसायी लखेटेर महानगरले कस्तो बिकास र सभ्यताको जग बसाउन खोजेको हो जवाफ दिनुपर्छ । 

हामीजस्ता निमुखा जनता जो सानो लगानीमा पसल गरेर जीवन निर्वाह गरिरहेका छौँ, हाम्रा लागि राज्य कतै नहुने हो ? हामीले सडक अवरोध गरेको अवस्थामा, कालोबजारी गरेको अवस्थामा, सार्वजनिक शान्तिमा असर पारेको अवस्थामा कारबाही हुनैपर्छ । तर बिहान बेलुका, जतिवेला सवारी चाप हुँदैन, त्यस्तो बेला व्यापार गरेर खाएकाहरुलाई महानगरले लखेट्नुपर्ने बाध्यता के हो जवाफ पाउनुपर्छ । 

महानगरका मेयर र अन्य जनप्रतिनिधिलाई हाम्रो भोट चल्ने, हामीले ढोकामा लगेर दिएको तरकारी र फलफूल चल्ने तर हाम्रो पेट पाल्ने सीप र श्रम नचल्ने यो कस्तो लोकतन्त्र हो ? 

ललितपुर महानगरपालिकाको लगनखेलदेखि मंगलबजारसम्मको क्षेत्रमा फुटपाथ व्यवसाय आजदेखिको होइन । यो ललितपुर र यहाँका स्थानीयको जनजीवनको अभिन्न अंग बनेको छ । यस्तो अवस्थामा बिना बिकल्प, साना व्यवसायीलाई स्थानान्तरणको समय र विकल्पसमेत नदिइ गरेको यो निर्णय जति अलोकतान्त्रिक छ, हाम्रो पक्षमा बोल्ने ईःमाथि मेयर चिरिबाबु महर्जनको निर्देशनमा महानगरले गरेको भिजिलान्तेको प्रयोग उत्तिकै खेदजनक छ ।

मानवअधिकार दिवसका दिनबाट रोजीरोटी खोस्ने महानगरविरुद्ध र हाम्रा पक्षमा १०८ मिनेट उभिएर बिरोध गर्न उभिएका ईःलाई ललितपुरका जनप्रतिनिधि र नगरप्रहरीले विश्व तटस्थ दिवसका दिन जसरी भिजिलान्ते प्रयोग गरेर प्रदर्शन गर्न दिइएन, यो लोकतन्त्रमाथिको भद्दा मजाक हो । 

ईः ले प्रहरी सुरक्षा घेराभित्र भद्र प्रदर्शन गरे । कारण महानगरले स्थानीयबासीका नाममा प्रयोग गरेका भिजिलान्तेले उनीमाथि आक्रमण गर्न खोजे अपशव्द बोले । 

तर हामी अहिलेपनि सभ्य भाषामा भन्छौँ–  हामी अपराधी होइनौँ । हामीलाई कि विकल्प देउ, होइन भने नियमनसहित गरीखान देऊ । 

(ललितपुर महानगरपालिकाको फुटपाथ हटाउने निर्णय र अभियन्ता ईःमाथि भएको ज्यादतीका विषयमा स्थानीय फुटपाथ व्यवसायीका नाममा वडापालिकालाई प्राप्त इमेलमार्फतको प्रतिकृया जस्ताको तस्तै प्रकाशित गरेका छौँ । सं.)   

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update