Odapalika - The Fourth Estate - चौथो अंग
आँबूखैरेनी गाउँपालिकामा २ वर्षदेखि ८९ वर्षसम्मकाको मोतिविन्दुको निःशुल्क अप्रेसन

काठमाडौँ । तनहुको आँबूखैरेनी गाउँपालिकामा बच्चादेखि जेष्ठ नागरिकसम्मको मोतिविन्दुको निःशुल्क अप्रेसन भएको छ ।

गाउँपालिकाले आफ्नै अस्पतालमा शिविर नै संचालन गरेर मोतिविन्दुको अप्रेसन गराएको हो । सो शिविर मंसिर २६ गतेदेखि आँबूखैरेनी अस्पतालमा संचालन भएको हो ।

सो शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष शुक्र चुमानले गरेका थिए । आँबूखैरेनी गाउँपालिका, नेपाल नेत्रज्योति संघ, भरतपुर आखाँ अस्पताल चितवन र नेपाल नेत्रहिन संघ पूर्णस्थापना कार्यक्रम गोर्खाको संयुक्त आयोजनमा भएको सो शिविर मंसिर २८ गतेसम्म संचालन गर्ने कार्यक्रम तय गरिएको गाउँपालिकाका स्वास्थ्य सहायक प्रमोदकुमार साहले जानकारी दिए ।

शिविरमा डा. पुष्पा गिरी, डा. क्षमता सुवेदीलगायतको विशेषज्ञ चिकित्सकको टोली सहभागी थियो । शिविरमा आँबूखैरेनी आँखा अस्पतालका कर्मचारीहरु भोला चौधरी र मुना गुरुङले सहयोग गरिरहेका छन् ।

शिविर संचालन गर्नुअघि गाउँपालिकाले सबै वडामा गएर सम्भावित विरामीको लगत संकलन गरेको थियो । यसरी लगत संकलन गर्दा ९३२ जनाको मोतिविन्दुको समस्या हुन सक्ने देखिएको थियो ।

सम्भावित विरामीमध्ये ६५ जनाको मोतिविन्दुको अप्रेसन गरिहाल्नुपर्ने अवस्था देखिएको स्वास्थ्य सहायक साहले जानकारी दिए । शिविरमा तनहु जिल्लाका साथै, गोर्खा र चितवनदेखि सेवाग्राही आँबूखैरेनी पुगेका थिए ।

सो शिविरमा २ वर्षको बच्चादेखि ८९ वर्षका जेष्ठ नागरिकसम्मको मोतिविन्दुको अप्रेसन गरिएको छ । सो शिविरमा तनहुकै व्यास नगरपालिका–१२ की ८९ वर्षीय मीनाकुमारी पन्थ र ७० वर्षीय पुतली भुजेल रहेका छन् । यस्तै, २ वर्षीय एक बालिकाको पनि अप्रेसन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update