काठमाडौँ । २९औँ महानगर दिवसको सन्दर्भमा आयोजना गरिएको महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगितामा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा कवको समूहले प्रथम स्थान हासिल गरेको छ ।
यस्तै वडा नं. १६ को श्री श्वेत बिनायक बाँसुरी ल्हुति संरक्षण समितिको समूह दोस्रो र वडा नं. २० को अशोक विनायक व्यवस्थापन समाजको समूहले तेस्रो स्थान प्राप्त गरेको छ ।
प्रथम स्थान हासिल गर्नेलाई १ लाख ५० हजार रुपैयाँ नगद र शिल्डमा चाँदीको ठूलो बाँसुरी, दोस्रो स्थान हासिल गर्नेलाई १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी र तेस्रो स्थान हासिल गर्नेलाईं ५० हजार रुपैयाँ नगद सहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरियो ।
प्रतियोगिताको निर्णयकमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट जीवन आले, सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) बाट दुर्गाप्रसाद खतिवडा, रेडियो नेपालबाट डा. निरञ्जन राजभण्डारीे थिए ।
विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्दै उपप्रमुख सुनिता डंगोलले अमूर्त सांस्कृतिक सम्पदासँग जोडिएका बाजागाजा र बाद्य परम्परा जोगाउने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताइन् ।
‘गएको बर्ष धिमे बाजा प्रतियोगिता आयोजना गरेका थियौँ । यस बर्ष बाँसुरी बादन प्रतियोगिता ग¥यौँ । अमूर्त सांस्कृतिक सम्पदासँग जोडिएका रहनसहन, बाजागाजा, भेषभुषा, श्रृङ्गार, भाषा, साहित्य र सिर्जना जोगाउने काम गर्नेछौँ,’ उनको भनाइ थियो ।
महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा ७ वटा समूहले भाग लिएका थिए । बिजेता ३ समूहबाहेक अरु समूहलाई प्रोत्साहनस्वरुप १०÷१० हजार रुपैयाँ प्रदान गरिएको थियो । यसरी प्रोत्साहन प्राप्त गर्नेमा वडा नं. १२ को धर्मचक्र तःननी खल, वडा नं. ८ को ग्वल बाजं खलः, वडा नं. २२ को पाक्वःपुखुद्या मानन्धर सनाः खल, वडा नं. २४ को केशचन्द्र महाविहार संरक्षण समाजका प्रतियोगी समूह थिए ।
प्रतियोगीले परम्परागत भेषभुषा र गरगहनामा प्रस्तुति गरेका थिए । एउटा समूहमा १२ जनासम्मले भाग लिन पाउने सर्त थियो । प्रतियोगी समूहका ८ जनाले बाँसुरी मात्र बजाएका थिए । केही समूहले तीनवटै बाँसुरी समावेश गरेका थिए । ठुलो र मध्यम वा मध्यम र सानो बाँसुरी बजाउनु प्रतियोगिताको अनिवार्य सर्त थियो ।
समूहका बाँकी ४ जनामध्ये २ जनाले पछिमा, खिं, कोचखिं, धाः, नायखिं, मादल, धिमे, धोलक, नगर वा अन्य नेवार समुदायका छालाका बाजामध्येका ३ वटा बाजा समावेश गरेका थिए । २ जनाले ताः, झ्याली, बबू, भुस्याः, छुस्या, घौ, घंघलाजस्ता नेवार समूदायमा बजाइने धातुबाट बनेका बाजाहरु सहायक बाजाका रुपमा बजाएका थिए ।