Odapalika - The Fourth Estate - चौथो अंग
रास्वपाको वडा अधिवेशन आजदेखि, कहाँ, कहाँ हुँदैछ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको प्रक्रिया आजदेखि सुरू हुँदैछ । बिहीबार एकसाथ सात प्रदेशका सात वटा वडामा अधिवेशन गर्दै रास्वपाले पहिलो महाधिवेशनको प्रक्रिया थालेको हो ।

गएको आमनिर्वाचनअघि मात्रै गठन भएको रास्वपाले प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी संगठन विस्तार गरिसकेपछि अब वडा तहबाट महाधिवेशनको प्रक्रिया अघि बढाएको हो । पहिलो वडा अधिवेशनकालागि सातै प्रदेशमा रास्वपाका केन्द्रीय नेताहरू खटिएका छन् । 

पार्टीको प्रथम महाधिवेशनको प्रक्रियाअन्तर्गत नै वडा तहको अधिवेशन प्रारम्भ गरिएको केन्द्रीय सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए । 

‘आज एक साथ सात प्रदेशका एक–एक वडाको अधिवेशन हुँदैछ, यसपछि क्रमशः ६ हजार ७४३ वटै वडाको अधिवेशन अघि बढ्छ,’ उनले भने, ‘त्यसपछि स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गरेर केन्द्रीय अधिवेशन गर्ने हो ।’

अधिवेशनका लागि कोशीमा केन्द्रीय सदस्य विजय जैरु, मधेशमा सहमहामन्त्री सुमना श्रेष्ठ, बागमतीमा महामन्त्री मुकुल ढकाल, गण्डकीमा केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक सन्तोष परियार, लुम्बिनीमा कोषाध्यक्ष लिमा अधिकारी, कर्णालीमा संगठन विभागका प्रमुख शंकर श्रेष्ठ र सुदूरपश्चिममा सहमहामन्त्री विपिनकुमार आचार्य खटिएका छन् । 

पार्टी गठनको छोटो समयमै संसद्को चौथो शक्ति बनेको रास्वपाले हालै महोत्तरीमा बसेको केन्द्रीय कमिटी बैठकबाट सबै सांसदहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो भने पार्टीका पदाधिकारी थप गरेको थियो । 

सो बैठकले कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरी चुनाव जितेका अर्थशास्त्री स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापति बनाएको थियो भने सुमना श्रेष्ठलाई सहमहामन्त्री र लिमा अधिकारीलाई कोषाध्यक्ष मनोनीत गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update