Odapalika - The Fourth Estate - चौथो अंग
चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चार महिनाको अबधिमा झन्डै ५ खर्ब हाराहारीमा रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिना (गत साउनदेखि कात्तिक मसान्तसम्म) को तथ्यांक अनुसार ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । 

अघिल्लो वर्षको तुुलनामा चालू आवको चार महिनामा २६.४ प्रतिशत बढीले रेमिट्यान्स भित्रिएको हो भने अघिल्लो वर्षको सोही अवधिको तुुलनामा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १३७,४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८,८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १९६,७३५ र ८७,४२८ रहेकोथियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले वृद्धि भई ५ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update