Odapalika - The Fourth Estate - चौथो अंग
१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने

काठमाडौँ । विदेशी मुद्राको सञ्चिति झन्डै १७ खर्ब रुपैयाँको हाराहारीमा पुुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिना (गत साउनदेखि कात्तिक मसान्तसम्म) को तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चिति कात्तिक मसान्तसम्म १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुुगेको हो । 

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ हाराहारीमा रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भएको हो । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० कात्तिक मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ९० अर्ब ८३ करोड पुगेका छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० कात्तिक मसान्तमा ६.४ प्रतिशतले वृद्घि भई २ खर्ब ५ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । 

कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update