Odapalika - The Fourth Estate - चौथो अंग
महेन्द्रको सालिक राख्ने विषयमा विवाद, प्रशासनले लगायो भीमदत्त नगरपालिकामा निषेधाज्ञा

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले कञ्चनपुरले भीमदत्त नगरपालिकामा निषेधाज्ञा लागू गरेको छ । स्वर्गीय राजा महेन्द्रको सालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मतभिन्नता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो । 

प्रशासनले बिहीबारदेखि ७ दिनसम्म लागू हुनेगरी भीमदत्त नगरपालिका–४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको सालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेको हो । 

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले निषेधाज्ञा जारी गरिएको जानकारी दिए । उनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी आदेशअनुसार यो क्षेत्रमा ७ दिनसम्म ५ जना भन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

संविधान चोकमा आज बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा महेन्द्रको सालिक स्थापना गर्ने तयारी थियो । तर कार्यक्रम सुरु हुनुअघि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update