सुरुमै प्रष्टीकरण– यो पढ्दै गर्दा तपाईंले पंक्तिकारलाई एमालेको कार्यकर्ताको ट्याग भिराइदिन सक्नुहुन्छ । यो तपाईंको स्वतन्त्रता हो । र, वास्तविक कुरा के चैँ हो भने मध्यपहाडमा यसपालि एमाले गज्जव देखिएको छ । वेल डन एमाले !
भक्तपुरको मध्यपुर थिमि नगरपालिका चारदोवाटोमा बसेर यो आलेख तयार पारिरहदा नेकपा एमालेको संकल्प यात्रा अरुण तरेर धनकुटा पुगिसेकको छ ।
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नारा तय गरेर बैतडीको झुलाघाटबाट १४ मंसिरदेखि सुरु भएको एमाले यात्रा १ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिदैछ । यस अर्थमा आज एमाले १५औँ दिनको यात्रामा छ ।
एमालेको यो संकल्प यात्राको दलीय नाफाघाटा केलाउने यो आलेखको उद्धेश्य हुँदै होइन, हो त केवल एमालेले यात्राका क्रममा गरेका र गर्न बिर्सिएका विषयको उत्खनन् मात्र ।
सुरु मै भनौँ– दलहरु पार्टी बन्ने कि पाटी भन्ने अहिलेको गम्भीर सवाल हो । एमाले आफूलाई पार्टीका रुपमा जनतामाझ चिनाउन देश दौडाहामा छ । जसरी कुनै समय चीनमा माओत्सेतुङले राष्ट्र विकास अभियानका नाममा ‘लङ मार्च’ गरेका थिए । एमालेको यो अभियान माओको ‘लङ मार्च’ जस्तो हो, होइन यात्रा पुरा गरेर फर्किएपछि एमालेले तय गर्ने नीति र उसको व्यवहारले नै पुष्टि गर्ला । तर अहिलेलाई भने एमालेको यो यात्राले के दियो, कता चुक्यो भन्नेमा केन्द्रीत गरौं ।
राजनीतिक दलहरु सिंहदरवार र बानेश्वरमा थुकका छिटा उडाउँदै कुण्ठा पोखेर बस्ने मात्र होइन । जनतालाई देख्न, हेर्न र बुझ्न गाउँ जानुपर्छ । देउवाको गाउँ पुगेपछि केपी ओलीले जस्तै ‘हेल्लो शेरबहादुरजी ! तपाईंको गाउँ आइपुगेको छु, अनि सम्झेको’ भनेर फोन गर्दै हार्दिकता साट्न सक्नुपर्छ । खोटाङबाट फोन गरेर ‘ह्याप्पी बर्थडे प्रचण्डजी’ भन्न सक्नुपर्छ । र सक्नुपर्छ, स्थानीय जनताका दुःख टिप्न, देख्न र हेर्न ।
संकल्प यात्राका क्रममा एमाले अध्यक्ष ओलीले दोलालघाटमा माछा तारेको विषय अहिले चर्चामा छ, जुन ओली स्वयंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
ओलीले माछा तारेको विषय कतिपयलाई टाउको दुखाईको विषय भएको छ । तर, ओलीले स्थानीय उत्पादन र स्वादको प्रबद्र्धन गर्दा किन टाउको दुख्नुपर्ने ? ओलीले माछा तारेको भिडियोको आलोचना गर्नेहरुले चुनावको बेलामा हलो र अनौ समातेको फोटो सामाजिक संजालमा पोस्ट्याएका थिए कि थिएनन् ? गोठमा पसेर गाई दुहे जस्तो अभियन गरेका थिए कि थिएनन् ? ती अभिनयहरु ठीक बेठिक भन्ने मेरो कुरा होइन । दोलालघाटको माछालाई राष्ट्रिय र अन्तराष्ट्रिय चर्चामा पुर्याएर ओलीले गज्जव गरे । किनभने स्थानीय उत्पादनको प्रवद्र्धन र प्रोत्साहन अबको राजनीतिको मुद्दा बन्नुपर्छ ।
यात्राका क्रममा ओलीले दोलालघाटको माछाको ब्राण्डिङ गरिदिए, गज्जव गरे । अब माछा खेतीदेखि यसको व्यवसायिक उत्पादन र बजारीकरणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले योजना तर्जुमा गरी कार्यक्रम अघि बढाउनु पर्छ । ओलीले माछा तारेको भिडियोको आलोचना गर्न खर्चिएको केही दिमाग यता पनि लगाउने कि !
यात्राका क्रममा बाटोमा भेटिएका मठ मन्दिर छिरे केपी ओली र उनी नेतृत्वको टीम । अझ भनौँ मन्दिर छिरेर ठीक गरे केपी ओलीले । धर्म, संस्कृति, परम्परा र प्रचलनको प्रचार गर्ने ठेक्का धर्मगुरु, अभियन्ता वा सरकारी कार्यालयको मात्रै होइन, नेता र नेतृत्ववाटै ब्राण्डिङ हुनुपर्छ, धार्मिक पर्यटन ।
यात्राका क्रममा मध्यपहाडमा प्रचलित मारुनीदेखि लोकदोहोरीसम्म स्थानीयसँगै बसेर गाउनुपथ्र्यो केपी ओलीले । र, नाच्नुपथ्र्यो ओली दम्पत्ती । अहिलेसम्म उनी मारुनी र स्थानीय लोकभाकामा नाचेको सार्वजनिक भएन, यो कुरा छुट्यो । बिर्सिएको भए अझै ३ दिन छ एमालेसँग । धनुकटादेखि ताप्लेजुङसम्मका स्थानीय सांस्कृतिक रहनसहनहरुमा झुमुन केपी ओली । धान नाचमा सहभागी हुनुपर्यो केपी ओली । तब ने देश बुझिन्छ, रैथाने संस्कति बुझिन्छ र बुझिन्छ परम्परा ।
स्थानीयपन नबझ्ने दल के दल ? स्थानीय भाका र दुःख नबुझ्ने नेता, के नेता ? स्थानीय स्वाद र उत्पादन थाहा नपाएको पार्टी, के पार्टी ?
यात्राका क्रममा एमालेले स्थानीयसँग बालन भजन खेल्नुपर्छ । खेलेका छैनन् भने खेलुन् । कोदो टिप्ने किसानसँगै बारीमै पसेर कोदो टिपुन्, नल काटुन् । धान झार्नुपर्छ, बिटा वोक्नुपर्छ, कुन्यु लगाउनुपर्छ एमालेले ।
यो यात्रामा केपी ओलीले गोठ सार्दै गरेका किसानको गोठ बनाउन सहभागी हुनुपर्छ । डाँडाभाटा कस्नुपर्छ । खोरिया छिरेर खर काट्नुपर्छ । कोल समातेर निबुवा पेल्नुपर्छ केपी ओलीले । बालाचतुर्दर्शी जात्रामा पत्नी राधिकासँगै ठाडो भाकामा ओली नाच देखिनुपथ्र्याे, छुट्यो ।
बालाचतुर्दशीमा नदी किनारामा फूल तार्न सहयोग गर्दै गरेको ओली देखिएनन् ।
यो मंसिरमा नयाँ बालीको न्वागी पनि खाइन्छ मध्यपहाडमा । ओलीले दही चामल (न्वागी) खादै गरेको फोटो छुट्यो । स्थानीयका घरमा हुने गरेका तुलसी पूजामा सहभागी भएको भए जाति हुन्थ्यो ओली । घेवामा सहभागी भएको भए हुन्थ्यो । यो त विर्सियो क्यार एमालेले ! मुख्य व्यवस्थापक विष्णु रिमालजीहरु ! अबको यात्रामा यसो गर्न पनि सम्झाइदिनुस् है ।
यो यात्राका क्रममा मन्दिर गुम्बा, चर्च, गुरुद्वार जे छन्, त्यहाँ छिर्नुपर्छ एमाले । सुदूरपूर्वमा लिम्वु र राई धर्मगुरुसँगै बसेर मुन्धुम पढ्नुपर्छ एमालेले । च्याब्रुङको तालमा नाच्नुपर्छ एमाले । लिम्बू धर्म ‘साम्यो’लाई नजिकबाट बुझ्नुपर्छ एमालेले । नयाँ सालमा उत्पादित अन्नबाली र कृषियुगको आरम्भकर्ता सिबेरा एक्थुक्माको स्मरण गर्दै मनाइने चासोक ताम्नाङ पर्वबारे बुझ्नुपर्छ एमालेले ।
रोदीदेखि बालन हुँदै धान नाच्नुपर्छ ओलीले । यसो गरेका छैनन् भने अझै केही दिन बाँकी छ, गर्नुपर्छ ।
यो यात्राका क्रममा पक्कैपनि एमाले र यसका नेता केपी ओलीले मध्यपहाडी लोकमार्गमा विभिन्न स्वार्थ समूहले बनाएका घुमाउरो बाटो देखे, भोगे । फर्किएपछि कसका कारण र किन यस्तो भयो भनेर खोज्नुपर्छ ओलीले, स्थानीय आवश्यकताका आधारमा ती बाटोका लय सोझ्याउन सक्नुपर्छ ओलीले ।
पूर्वाधार निर्माणका विकृति ओलीले गाउँ छिरेर देखे, भोगे । डोजर आतंक देख्यो एमालेले । उसकै कार्यकर्ता जनप्रतिनिधि हुँदा उनीहरुको स्वार्थमा भएका काम पनि देखे ओलीले । र, देखे आफ्नै दलका नेतादेखि जनप्रतिनिधिसम्मले साँधेको राजनीतिक, सामाजिक र संस्कृति इविदेखि स्वार्थसम्म । यी पनि यात्राबाट फर्किएपछि सच्याउनुपर्छ ओली नेतृत्वको एमालेले ।
र, कांग्रेसलाई पनि सुझाव छ– एउटा गुटले अर्को गुटलाई कसरी ङ्याक्ने, कसरी अवहेलना गर्ने भन्ने ध्याउन्न भन्दा जनतासँग कसरी जोडिने भनेर योजना बनाओस् कांग्रेसले । केही दिनमै ऊ निस्कियोस्, जनतासँग जोडिने कुनै यात्रामा । र, सँगै देख्न पाइयोस् शेरबहादुर देउवा, शेखर र गगनलाई । अनि भन्न पाइयोस्–वेल डन कांग्रेस । माओवादी अनि रास्वपा जस्ता दलले पनि यस्तै योजना बनाउन् । उनीहरुलाई पनि भन्न पाइयोस्– वेल डन ।
जनताका समस्या, जनताका दैनिकी र जनताका जीवनशैलीसँग नजोडिने, तिनका दुःख नदेख्ने पार्टी होइनन् पाटी हुन् । पाटी, जहाँ थकाइ लाग्दा एकछिन् बसेर हिडेपछि वटुवाले विर्सियोस्, हाम्रा पार्टीहरु यस्ता पाटी नबनून्, जनताले सम्झिरहून् ।
हो, एमाले जनतासँग गयो । यसका अध्यक्ष केपी ओली जनतासँग गए । यो यात्राभर एमाले होइन केपी ओली देखिए, बोले, सुनिए, देखाइए ।
जनतासँग जोडिन अब कांग्रेस माओवादीले पनि सिक्नुपर्छ, अन्य दलले पनि सिक्नुपर्छ । फेरिपनि स्मरण गराउँ– जनतासँग नजोडिने, जनताका कुरा नसुन्ने पार्टी होइनन्, फगत पाटी हुन् ।
यात्रामा एमालेले सूदुरपश्चिमदेखि सुदूरपूर्वसम्मको मध्यपहाडका खानपान, रहनसहन, संस्कृति, विकास र विकासका सम्भावना देखेको छ । केपी ओलीले भनेजस्तै ‘बेनिघाट रोराङको चामल, थाक्रेको च्याउ, त्रिपुरासुन्दरीको मसाला र माछा, नीलकण्ठ गाउँपालिकाको तोरीको तेल, सिद्धलेकको तरकारी, ज्वालामुखी गाउँपालिकाको घिऊलगायत’ चाख्यो एमालेले । र, देखेको छ थुप्रै सम्भावनाका आधारहरु ।
आशा गरौं– एमाले यो यात्राबाट फर्किएपछि हिजोको एमाले रहने छैन । जनताका सुख, दुःख बुझेको एमाले हुनेछ । समृद्धिका सम्भावना देखेको र बुझेको एमाले हुनेछ । र, एमाले लाग्नेछ– सम्भावना बोकेका तर अधुरा सम्भावनालाई मुर्तरुप दिन । अनि पो संकल्प यात्रा, नत्र केको संकल्प यात्रा ?