Odapalika - The Fourth Estate - चौथो अंग
असइ हत्या प्रकरणः एमाले सांसद कोइरीलाई सफाई, पूर्वमेयर र पूर्वराज्यमन्त्रीलाई जन्मकैद सजाय 

महोत्तरी । जिल्ला अदालत महोत्तरीले नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ दिएको छ । 

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने निर्णय सुनाएको हो । कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन् ।

न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा गत सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेको मुद्धामा आज फैसला भएको हो । अदालतमा विक पत्नी शोभासमेत उपस्थित थिइन् । 

सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरको भन्दै सांसद कोइरीसहित २८ जनाविरुद्ध मुघा दर्ता भएको थियो । लामो समयपछि भएको सुनुवाईपछि जिल्ला अदालतले उनलाई हत्या अभियोगबाट सफाइ दिएको हो । 

२८ जनामध्ये ८ जना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको मुद्दामा थप ६ महिना कैद कैद सजाय हुने अदालतको फैसलामा उल्लेख छ ।

जन्मकैद सजाय हुनेहरुमा प्रदीप शाह माझी, सञ्जय शाह, मोहन ठाकुर, शंकर शाही, रामशंकर मिश्र, अबिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन् । 

जन्मकैद सजाय पाएका मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् भने अविराम शर्मा मधेश प्रदेश सरकारका पूर्वराज्यमन्त्री तथा मधेश प्रदेशसभा सदस्य हुन् । 

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते असई विकको एम्बुलेन्सबाट निकालेर धानबारीमा लगेर हत्या गरिएको थियो ।

प्रहरीको फरार सूचीमा रहेका कोइरी प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी–१ बाट निर्वाचित भएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update