Odapalika - The Fourth Estate - चौथो अंग
केन्द्र सरकारले बाजुरा भूकम्प प्रभावितका लागि पठाएको आठ करोड फिर्ता

काठमाडौँ । बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड रुपैयाँ फिर्ता गरिएको छ । पहिलो किस्ताको १४ करोड रुपैयाँमध्ये १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो । 

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो । सो रकम विपद् व्यवस्थापन कोषमा  पठाइएको उनले जानकारी दिए । भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो ।  

प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले उक्त क्षेत्रमा प्रभावितका लागि तत्काल थप रकम निकासा गर्नुुपर्ने भएकाले रकम फिर्ता गर्न  पत्र पठाएको प्रजिअ पौडेलले बताए । प्राधिकरणले बाजुराका भूकम्पप्रभावितका  लागि  अस्थायी आवास निर्माण गर्न गत मङ्सिर ४ गते पहिलो किस्ताबापत १४ करोड रुपैयाँ पठाएको उनले जानकारी दिए ।

निकासा भएको सो रकममध्ये हिमाली गाउँपलिका र बूढीगङ्गा नगरपालिकाबाहेक जिल्लाका सात स्थानीय तहका एक हजार पाँच सय नौ प्रभावित परिवारका  लागि तीन करोड ७७ लाख रुपैयाँ सम्बन्धित स्थानीय तहमा पठाइसकेको प्रजिअ पौडेलले बताए । 

खप्तड छेडेदह गाउँपािलकामा नौ सय ६६, त्रिवेणी नगरपालिकामा एक सय १३, गौमुल गाउँपालिकामा ५५, बूढीनन्दा नगरपालिकामा ६५, स्वामीकार्तिक खापर गाउँपालिकामा नौ, जगन्नाथ गाउँपालिकामा ७४ र बडीमालिका नगरपालिकामामा दुई सय २७ परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको खातामा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्राधिकरणले गत असोज १६ गते बझाङ  केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्ताबापत रकम पठाएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update