Odapalika - The Fourth Estate - चौथो अंग
‘सञ्चालक र सदस्यहरु नियमनमा नबाँधिदा सहकारीमा समस्या आयो’

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटले सहकारी क्षेत्र धर्मराएको बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३ औं वार्षिक साधारण्सभामा बोल्दै सचिव दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा सहकारी क्षेत्रनै धर्मराएको बताएका हुन् । 

‘केही सहकारीमा आएको सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखियो’, उनले भने, ‘सञ्चालक र सदस्यहरु नियमनमा बाँधिन नसक्दा समस्या आएको हो ।’

सहकारी क्षेत्रमा हाल देखिएको समस्या समाधानका लागि माथिल्लो निकायबाट काम सुरु गर्ने उनले बताए । ‘सहकारीमा देखिएका समस्या तलबाट सुधार गरेर भएन । अब लेखा जाँच कडाइका साथ गर्छौं । सुधार अब माथिबाट गर्नुपर्ने देखियो’, उनले भने, ‘अब हामी ऐन तथा नियम पालना कडाइका साथ गराउँछौं ।’ 

सहकारीहरू सिद्धान्तमा नचल्दा समस्या आएको समेत सचिव दुवाडीले स्पष्ट पारे । स्वंयम सञ्चालक नियममा बाँधिन नचाहाँदा पनि समस्या उत्पन्न भएको सचिव दुवाडीको भनाई थियो ।

त्यस्तै सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रको समस्या समाधानको लागि कार्यदलले दिएको सुझाव कार्यान्वयनको चरणमा रहेको बताए । उनका अनुसार पछिल्लो समय सहकारीमा विश्वासको वातावरण अभाव हुँदा पनि ठूलो संटक सृजना भएको हो । यो समस्या समाधानको लागि सबैले आ–आफ्नो ठाउँबाट समन्वय र सहकार्य गरी अगाडी बढ्नुपर्ने धारणा राखे ।

‘समस्या समाधानको लागि अभियाकर्मी र नियामकको सहकार्य आवश्यक छ । हामीबाट पनि विगतमा केही कमीकमजोरी भएको हुनसक्छ’, उनले भने, ‘ती कमिकमजोरीलाई सुधार गर्दै अगाडी बढ्नुपर्ने चुनौती सबैमा छ । सदस्यहरुमा विश्वासको वातावरण सृजना गर्नुपर्ने दायित्व हामी सबैको हो ।’

यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी सुधारमा तीनै तहका सरकार, अभियानसँगै सञ्चार माध्यमको पनि भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले हाल संकटका बीच सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि ऐना जस्तै छर्लङ्ग हुनेगरि समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सञ्चार माध्यमले तथ्यपरक ढंगले समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गरे । उनले पनि अहिले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सञ्चार माध्यमको भूमिका प्रभावकारी हुने बताए । 

सीजेएनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सीजेएनको अध्यक्षमा काजी श्रेष्ठ पुनः निर्वाचित भएका छन् । सीजेएनको १३ औ बार्षिक साधारणसभाबाट पुनः श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । 

नवनिर्वाचित संस्थाको उपाध्यक्षमा अर्जुन खतिवडा, सचिवमा सन्तोष रोकाया, सह–सचिवमा सुधा देवकोटा र कोषाध्यक्षमा माधव कुमार खड्का चयन भएका छन् । यस्तै सदस्यहरुमा नमिता दुलाल र बलराम बुढाथोकी रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update