Odapalika - The Fourth Estate - चौथो अंग
आहा ! शैलुङ सौन्दर्य 

रामेछाप । ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउँनेलाई, हत्केलामा मायाको गुराँस फुलाउनेलाई...’ रामेछापको शैलुङ पुग्ने जोकोहीलाई कुन्ती मोक्तानले गाएको यो गीतको पंक्तिले छुन्छ ।

प्राकृतिक छँटाले मनमोहक शैलुङले नलोभ्याएको कसलाई होला र ? एकपटक पुग्नै पर्ने गन्तव्यका रुपमा परिचित शैलुङलाई देख्ने र टेक्नेहरुले स्वर्गको टुक्रा नै मान्ने गरेका छन् । 

शान्त, शीतल र सुन्दर ठाउँ घुम्न चाहने जो कोहीलाई पनि शैलुङ उत्कृष्ट गन्तव्य बन्ने गरेको छ । 

रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङ ऐतिहासिक, धार्मिक र पर्यटकीय पवित्र भूमि हो । शैलुङ रमणीयताको दृष्टिले मात्र नभइ धार्मिक तथा ऐतिहासिकहिसाबले पनि त्यतिकै महत्वपूर्ण छ । 

यो हिन्दू र बौद्ध धर्मालम्बीको पवित्रती र्थस्थल पनि हो । यसको साथै सुन्दर पर्यटकीयस्थल पनि हो । देश विदेशका सबै जात, धर्म र समुदायका लागि रमणीय, भ्रमण योग्य स्थल हो । 

sailung -11690440131.jpg

Sailung -41690440181.jpg

समुद्र सतहदेखि ३ हजार १ सय ४६ मिटरको उचाइमा रहेको शैलुङलाई हिउँदमा हिउँले ढाक्छ, वर्षामा कुहिरोले । हिउँदमा हिउँसँग लुकामारी खेल्ने शैलुङ वर्षामा कहिले घामसँग त कहिले कुहिरोसँग लुकामारी खेल्छ । दुबोको गलैँचाले सधैँ आगन्तुकलाई शैलुङले स्वागत गर्छ । विभिन्न जातका फूलले सत्कार गरिरहेको हुन्छ । 

 

शैलुङलाई बौद्ध धर्मावलम्बीले बुद्धले पाइला टेकेको पवित्र भूमि मान्ने स्थानीय दावा सङ्वु शेर्पा बताउँछन । हिन्दू धर्मावलम्बीले शैलुङलाई भगवान् शिवको तपोभूमिका रूपमा श्रद्धाभाव प्रकट गर्छन् ।

शैलुङ प्राकृतिक रूपमा बनेका सय थुम्काको सङ्गम हो । सधैँ हरियो दुबोले ढाकिने ती थुम्का हिउँदमा हिउँले ढाकिन्छ । ‘शैलुङ सधैँ रसिलो हुन्छ, शैलुङ पुगेको मान्छे त्यसै हँसिलो हुन्छ’, शेर्पाले काव्यात्मक लयमा भने ।

विगतमा विकट मानिने अब सुगम बनेको छ । रामेछापको सदरमुकाम मन्थलीबाट दोरम्बा हुँदै शैलुङसम्म कच्ची सडक बनेको छ । अहिले काठमाडौं र तराईबाट सजिलै शैलुङसम्म पुग्न सकिने भएको छ । 

sailung -21690440176.jpg

रामेछापको सदरमुकाम मन्थलीबाट शैलुङसम्म कच्ची सडक बनेको छ ।  तराईबाट आउने बीपीमार्गको खुर्कोटबाट मन्थली आधा घण्टामा आइपुग्छ । मन्थलीबाट शैलुङ चार घण्टामा पुगिन्छ । 

काठमाडौँबाट शैलुङ जान बीपी मार्ग अन्तर्गत सिन्धुलीको झाँगाझोली रातमाटाबाट सित्खामा रहेको सुनकोसी नदीको पुल तरेर गाल्पा हुँदै पनि पुग्ने सडक बनेको छ । सिन्धुपाल्चोकको मुढे हुँदै दोलखाको कालापानीबाट पनि शैलुङ पुगिन्छ ।

रामेछापको बाटो शैलुङ जाँदा खोला खर्कसम्म गाडी जान्छ । दोलखाबाट कालापानीसम्म आउँछ । दुवै तर्फबाट शैलुङ पुग्न करिब २० मिनेट उकालो चढ्नु पर्छ । उकालो चढ्न रामेछापको खोलाखर्कबाट सिँढी बनाइएको छ । ठाउँ ठाउँमा विश्रामस्थल पनि बनाइएको छ ।  

शैलुङ घुम्न जानेलाई बस्नको लागि दोरम्बा, राजभिर खोलाखर्क लगायतका स्थानमा होमस्टे बनेका छन् । दोलखापट्टी पनि होटेल र होमस्टे छन् । काठमाडौंबाट शैलुङ जाँदा अघिल्लो दिन गएर भोलिपल्ट फर्कन भ्याइन्छ । 

Sailung -31690440176.jpg

धार्मिक हिसाबले घुम्न जानेका लागि काठमाडौंबाट जाँदा सिन्धुलीको दुम्जामा रहेको कुशेश्वर महादेव, रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवी दर्शन गरेर शैलुङ पुग्न सकिन्छ । 

बसाइ अझ लम्ब्याउन चाहनेले सोही यात्रामा दोलखाको भीमेश्वर र कालिञ्चोकसम्मको यात्रा गर्न सक्छन् । यसो गर्दा काठमाडौँबाट जानेले बढीमा तीनदिन छुट्ट्याइनु पर्छ । 

प्रकृतिको वरदान शैलुङ एक पटक पुग्ने पर्ने गन्तव्य हो । शैलुङको डाँडामा चरिरहेको चौँरी र त्यहाँको वातावरणले एक पटक सबैको मन पुलकित बनाउँछ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update