Odapalika - The Fourth Estate - चौथो अंग
‘जाँड खाने’ महेश राई, लाग्ने एमालेलाई ?

पूर्वी नेपालको मध्यपहाडमा एउटा किंवदन्ती चर्चित छ ।

कुनै गाउँमा एक जना चर्चित र नामी पण्डित रहेछन् । सप्ताह वाचनको लागि टाढाटाढासम्म उनलाई बोलावट हुने रहेछ । र, उनको एक जना छिमेकीले कालो कुकुर पालेका रहेछन् ।

ती पण्डितजी कुनै ठाउँमा सप्ताह वाचन गर्दै थिए । उनको गाउँबाट एक जना हतारहतार आएर सुनाइदिएछ– पण्डितजी हजुरको छोराले कुकुरको आची खाएछन्, अब के गर्ने ? 

पण्डितजी ट्वा परेछन् ।

यो कुरा एक कान दुई कान हुँदै सप्ताह सुन्न आएका सबैले थाहा पाएछन् । अनि एक जनाले त प्वाक्कै सोधेछन्– पण्डितजी ! हजुरको छोराले कुकुरको आची खाएको भन्ने सुन्नमा आयो, खास कुरो के हो ? अब के हुन्छ ?

पण्डितजीलाई समस्या पर्यो । केही समय घोत्लिए । र, कुनै पुस्तकको पाना पल्टाए जस्तो गरेर भनेछन्– 

काली कुत्त्तिम महाउत्तिम, खैरी कुत्तिम तथैवच,

सेती कुत्तिम अथवा च राती कुत्तिम त वर्जते ।

भावार्थ यस्ताे हुने रहेछ– कालो कुकुर महाउत्तम हुन्छ । खैरो कुकुर ठिकठिकै । सेतो कुकुर पनि नहुने नै त होइन, रातो कुकुर चै खत्तमै हो । 

र, उनले खबर ल्याउनेलाई सबैले सुन्नेगरी सोधेछन्– कुन रंगको कुकुरको आची खाएछ हँ मेरो छोराले ?

खबर ल्याउनेले भने– कालो कुकुरको हजुर ।

त्यसपछि उनको छोराले कुकुरको आची खाएको भएपनि कालो रंगको कुकुरको भएकोले त्यो आची पनि महाउत्तम भएछ । अनि पण्डितजीको निष्ठामा आँच आएन, उनको छोरा कुकुरको आची खाए पनि महाउत्तम नै कायम रहे ।

यो पूर्वी नेपालको मध्यपहाडमा चल्ने किंबदन्ती हो । र, एमालेको मध्यपहाडमा जारी संकल्प यात्राको ‘धनकुटा काण्ड’ ठ्याक्कै ‘काली कुत्तिम’ जस्तै भएको छ ।

मंसिर २८ गते धनकुटाको लेगुवामा स्थानीय महेश राईले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपातको प्रयास गरेको भिडियो सामाजिक संजालमा देखिएको छ । तर, एमाले कार्यकर्ताले यो घटनालाई जसरी व्याख्या गरेका छन्, त्यसले पण्डितजीको ‘काली कुत्तिम’ आइडियालाई पनि माथ गरे जस्तो भान हुन्छ ।

हातपातको प्रयास गर्ने महेश राईले ‘जाँड खाएको’ भन्ने तथ्य स्थापित गर्न एमाले पंक्तिले धेरै शक्ति खर्चेको छ । राईको परिवारका सदस्यहरुसँग भिडियो कुराकानी गरी उनले ‘जाँड खाएका थिए’ भनेर स्थापित गर्न खोजिएको छ । र, एमाले कार्यकर्ताले भनेका छन्– जाँड खाएर मात्तिएको एक जनाले बेहोसीमा गरेको हर्कतलाई एमाले अध्यक्ष ओलीमाथि हातपात भनेर अपव्याख्या नगर्दा जाति हुन्छ ।

एमाले अध्यक्ष ओलीमाथि हातपातको प्रयास गर्ने मान्छेले जाँड खाएको भएपनि नखाएको भएपनि उनको हर्कत कानुनी रुपमा दण्डनीय र सभ्य समाजका लागि कलंक हो । एमाले अध्यक्ष ओली मात्रै होइन, कुनै व्यक्तिमाथि पनि भौतिक आक्रमण गर्न हुँदैन, पाइदैन ।

तर, एमाले पंक्ति राईले ‘जाँड खाएर गरेको हर्कत’ भनेर जसरी स्थापित गर्न खोज्दैछ, त्यसको आशय के हो ? जाँड खाएर बेहोसी भएको अवस्थामा पनि सभामा जान पाइन्छ ? जाँड खाएर बेहोसी भएको मान्छेले पूर्वप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता (वेटिङ प्रधानमन्त्री) लाई फूलमाला लगाइदिन पाइन्छ ? 

हो, ओलीमाथिको हातपातको प्रयास निन्दनीय र कानुनी रुपमा दण्डनीय छ । तर, ओलीमाथि हातपातको प्रयास भएको हो भन्दा एमालेले लाज मान्नुपर्ने अवस्था पक्कै पनि आउँदैन । बरु कार्यक्रम आयोजना गर्ने आयोजक र शान्ति सुरक्षा प्रदान गर्ने राज्यमाथि प्रश्न उठ्छ । प्रत्येक नागरिकको जिउधनको सुरक्षाको जिम्मेवारी लिएको राज्य संयन्त्र कमजोर भएको अर्थ लाग्छ । 

नेतामाथि भौतिक आक्रमण हुनुहुँदैन । तर, विश्वमा यस्ता घटना नभएका पनि होइनन् । जस्तो कि अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई थिएटरमै गोली हानेर मारियो । भारतमा महात्मा गान्धीको पनि हत्या गरियो । तर, भौतिक रुपमा ज्यान लिदैमा लिंकन वा गान्धीको योगदान र महत्व कम भएन । आजसम्म पनि यी नेतालाई उच्च सम्मानका साथ स्मरण गरिन्छ । 

नेपालमा पनि नेताहरुमाथि भौतिक आक्रमण भएका छन् । जस्तो कि २००७ सालको क्रान्ति सम्पन्न भएपछि तत्कालिन गृहमन्त्री विपी कोइरालालाई उनकै क्वाटरमा भरतशमशेरका मान्छेले भौतिक आक्रमण गरेका थिए । सो आक्रमणबाट जोगिन प्रतिकार गर्नको लागि विपीले बन्दुक चलाएका र सोही क्रममा एक आक्रमणकारीको मृत्यू भएको विपी स्वयमले उल्लेख गरेका छन् ।

२०४६ सालको जनआन्दोलनपछि पनि नेतामाथिको भौतिक आक्रमण रोकिएको छैन । जस्तो कि नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई एक व्यक्तिले सार्वजनिक कार्यक्रममै थुकेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक सार्वजनिक कार्यक्रममा झापड नै हानिएको थियो । तत्कालिन सभामुख रामचन्द्र पौडेललाई तत्कालिन सांसद गोल्छे सार्कीले संसदमै कुटेका थिए । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि झापड हानिएको थियो भने पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला सहभागी भएको कार्यक्रमको मञ्च नै तोडफोड भएको थियो । 

माथिका यी घटनामा जो–जो नेताहरुमाथि आक्रमण वा आक्रमण प्रयास भयो, त्यसमा उनीहरुको कमजोरी देखिएन । आक्रमण गर्नेहरुकै दोष देखियो । आक्रमण प्रयास भएकै कारण उनीहरुको ओझ घटेको पाइएन । फेरि पनि थपौं– भौतिक आक्रमण सभ्य समाजको कलंक हो ।

तर, एमालेलाई लेगुवा घटना विषयान्तर गर्ने वाध्यता किन आइलाग्यो ? एमालेले बुझेकै कुरा हो कि मध्यपहाडी यात्रा उसको चुनौतिको यात्रा हो । उसको यात्रा सुरु भएसँगै उमाथि राजनीतिक, सास्कृतिक र भौतिक आक्रमण हुन्छ भन्ने आकलन त एमालेले गरेकै हुनुपर्छ ।

एमालेले लेगुवा घटनाको विषयान्तर गर्न जरुरी छैन । महेश राईकी श्रीमतीलाई ल्याएर ‘जाँड खाएको थियो’ भन्ने पुष्टि गराउने प्रयासले एमालेको नियतमाथि प्रष्टता होइन, संसय बढाउँछ । र, यसमा एमाले पंक्ति जसरी खनिएको छ, त्यो हेर्दा महेश राईले ‘खाएको जाँड’ एमालेलाई लागेको छ ।

एमालेले लेगुवा घटनालाई ‘काली कुत्तिम’ आइडिया झिक्न जरुरी छैन । भएको जे हो, सोही पारदर्शी रुपमा सार्वजनिक हुन दिएको भए उसले बढी ध्यान आफ्नो संकल्प यात्रामा लगाउन पाउथ्यो कि ! 

आशा गरौँ, एमाले मात्र होइन, राजनीतिक अभियानमा अक्सर भइरहने यस्ता आक्रमणका घटनालाई लुकाएर जनतामाझ दलहरु थप रहस्यमय बन्ने छैनन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update