Odapalika - The Fourth Estate - चौथो अंग
हाकिमको मामिलाः बैतडीका स्थानीय तहमा रमिता छ 

काठमाडौंँ । सुदूर पश्चिमको दुर्गम पहाडी जिल्ला बैतडीका पाँच स्थानीय निकाय प्रशासन प्रमुख नहुँदा सेवा प्रवाह गर्न असमर्थ देखिएका छन् । प्रशासनको नेतृत्व नहुँदा स्थानीय निकायले दिने नियमित सेवा अवरुद्ध भएकाले गाउँ र नगरपालिकाहरुका प्राय कामहरु ठप्प जस्तै भएको स्थानीय प्रतिनिधिहरु बताउँछन् ।

स्थानीय सरकार आएको ६ बर्ष बितेपनि कर्मचारी व्यवस्थापन र स्थिरता नहूँदा बिकासले गति पाउन सकेको छैन् । स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत पाउँनै मुस्किल हुने, सरुवा भएर आएकाहरु समेत लामो समयसम्म टिक्न नसक्दा बैतडीका ५ पालिकाहरु अहिले पनि प्रशासकीय अधिकृत विहिन बनेका छन् ।

बैतडीमा प्रमुख प्रशासकीय अधिकृतहरु फेरिएका छन् । सामान्यतया कर्मचारी एक देखि दुई वर्ष एउटै क्षेत्रमा बस्नुपर्ने हो । स्थानीय सरकारलाई मजबुद र सञ्चालनको लागि कर्मचारीको सहयोग हुनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीको सरुवा चाडो चाडो हुँदा जनताले सेवा अनुभूति गर्न नसकेको बैतडीका स्थानीयहरुले बताउने गरेका छन् ।

योजना तथा कार्यक्रम कार्यान्वयन, आर्थिक कारोवार र प्रशासन सञ्चालनमा नेतृत्वदायी भूमिकामा अहिले पनि प्रमुख प्रशासकीय अधिकृत नै गरिरहेका छन् । तर जनप्रतिनिधिले भने केही गर्न सकिरहेका छैनन् । 

बैतडीका ५ ओटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाजमा समस्या भएको छ । पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका,सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको हो । 

दुर्गममा गएर काम गर्न नचाहने कर्मचारीको प्रवृत्तिले विकासमा अबरोध त भइरहेको छ नै जनप्रतिनिधिहरुको समेत गुनासो बढ्दै गएको छ । 

बैतडी जिल्लाका १० वटा स्थानीय तहमा यो बर्षको अवधिमा मात्रै एकदर्जन प्रमुख प्रशासकीय अधिकृतहरु फेरिएका छन् । सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई जिम्मेवारी दिएको भएपनि एकै जनाले ३ पालिकामा काम गर्न समस्या भइरहेको बताइएको छ । 

फेरिएका कतिपय प्रशासकीय अधिकृत कर्मचारीहरु सम्बन्धित पालिका नपुगेरै बाटोबाटै सरुवा भएर हिँडेका छन् । कतिपय स्थानीय तहमा हाजिर भएको एक दुई महिनामै प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएका छन् । कर्मचारी पालिका क्षेत्रमा नपुग्दा दैनिक कामकाजमा समेत समस्या भएको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाशले बताए ।

स्थानीय सरकार चलाउनुपर्ने ठाउँमा कर्मचारी नहुँदा योजना कार्यान्वयनमा जहिल्यै ढिलो हुने गरेको अध्यक्ष जोशीको भनाई छ ।

डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएका रञ्जय पटेलको हाजिर भएको ८ दिनमै मन्त्रालयले सरुवा गरेको थियो । गत असोज ८ गते पालिकामा हाजिर भएका पटेलको असोज १६ मै सरुवा भएको थियो । त्यसयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ । 

यस्तै पुर्चौंडी नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन छ । गत असोज २५ गते प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टको सरुवा भएपछि अहिले सम्म मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको छैन् । 

यस्तै सिगास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् । सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले नै सिगास पनि हेरीरहेका छन् । उनले तीनओटा पालिकाको जिम्मेवारी पाएकाले समस्या भइरहेको छ । 

जिल्लाको मेलौली नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ । प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीलाई दुई महिनाको जिम्मेवारी दिएकोमा यही मंसिर १७ गते उनको जिम्मेवारी सकिएको थियो । त्यसयता मन्त्रालयले कसैलाई जिम्मेवारी पनि तोकेको छैन् भने नयाँ प्रमुख प्रशासकीय अधिकृत पनि पठाएको छैन् । 

यस्तै, जिल्लाको दोगडाकेदार गाउँपालिका पनि तत्कालका लागि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ । दोगडाकेदार गाउँपालिकामा गत भदौ १८ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रप्रसाद थारुको पनि ३ महिनामै सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको हो । 

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले पठाउने गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमा प्रमुख प्रशासकीय अधिकृत नपठाउने र पठाएकाहरुको पनि मनलाग्दी सरुवा गर्दा दैनिक सेवा प्रवाहमा समस्या हुने गरेको बैतडीका स्थानीय तहहरुले जानकारी दिएका छन् । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update