Odapalika - The Fourth Estate - चौथो अंग
खाँडादेवी गाउँपालिकामा यसरी बन्दैछ अस्पताल 

काठमाडौँ । खाँडादेवी गाउँपालिकामा यसै वर्षबाट ५ शय्याको अस्पताल आफ्नै भवनमा सञ्चालनमा आउने भएको छ । 

खाँडादेवी गाउँपालिका–५ को गोगनपानीमा निर्माणाधीन गाउँपालिकाको अस्पतालको भवन चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी सेवा सञ्चालन गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । 

अस्पताल भवन निर्माण सम्पन्न गरी यसै वर्षबाट ५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । 

उक्त भवनको सबै काम पूरा हुँदा १५ शय्याको अस्पताल सञ्चालन गर्न सकिने भए पनि यस वर्ष एउटा तलाको काम पूरा गरी कम्तिमा ५ शय्याको अस्पताल सञ्चालन गरिने उनले बताए । ‘कम्तिमा ५ शय्याको अस्पताल यस वर्षबाट असस्पतालकै भवनबाट सञ्चालन हुन्छ’, उनले भने ।

अस्पताल भवन निर्माणको लागि गाउँपालिकाले गत वर्ष १ करोड ३० लाख रुपैँया विनियोजन गरेको थियो । तर गतवर्ष सो काम पूरा हुन सकेन । यस वर्ष अस्पताल निर्माणको लागि गाउँपालिकाले सो भवनको लागि ४० लाख रुपैँया विनियोजन गरेको छ । 

यस वर्ष ५ शय्या सञ्चालन गर्ने गरी काम सम्पन्न गरी त्यहीँबाट सेवा सञ्चालन गर्ने श्रेष्ठले जानकारी दिए ।  अस्पतालको भवन निर्माण सम्पन्न नभएको कारण अहिले सो अस्पतालले दिने सेवा पकरबास स्वास्थ्य चौकीबाट प्रवाह हुँदै आएको छ । 

सो स्वास्थ्य चौकीबाट चिकित्सक सहितका स्वास्थ्यकर्मीले सेवा प्रवाह गरिरहेका छन् । खाँडादेवी गाउँपालिकामा १३ वटा स्वास्थ्य इकाई छन् । ती स्वास्थ्य इकाइले ९ वटा वडाका नागरिकलाई सेवा दिँदै आएको छ । 

गाउँपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न मोबाइल अस्पतालको धारणा समेत ल्याएको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update