काठमाडौँ । बसन्तपुरमा रहेको काष्ठमण्डप क्षेत्रमा सौन्दर्यात्मक कार्यक्रम थालनी गरिएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले वडा कार्यालय, शार्दुलजंग गुल्म, स्थानीयबासीहरुको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेको छ ।
वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धरले सम्पदा क्षेत्रमा सवारी साधनको प्रवेशलाई रोक्न उक्त अभियानको थालनी गरिएको बताए । ‘सम्पदा क्षेत्रमा सवारी प्रवेश गरेपछि सामाजिक सांस्कृतिक कार्यक्रममा असर परिरहेको छ । यो असर रोक्ने अभिप्रायले काम थालिएको हो’, उनले भने ।
परिसरमा १२ वटा फलामे स्ट्याण्डमा ४८ वटा फूलसहितका गमला राखिएका छन् । दरबार संरक्षण कार्यक्रमको सहयोगमा शार्दुलजंग गुल्मले यसको व्यवस्थापन गरेको हो ।
उक्त कामलाई बसन्तपुर क्षेत्रभरि विस्तार गर्ने योजनामा काम भइरहेको दरबार संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए । उनका अनुुसार काष्ठमण्डप क्षेत्रमा सौन्दर्यात्मक कार्यक्रम थालनीसँगै मरु क्षेत्रमा फूल राख्ने कार्यक्रम समेत राखिएको छ ।
यसअघि बसन्तपुर जुद्धशालिक अगाडि कुमारी घरतर्फ र झोछेँ क्षेत्रमा करिब १२० वटा फूलसहितका गमला राखिएका थिए ।