Odapalika - The Fourth Estate - चौथो अंग
१८ बैंकले घटाए ब्याजदर, तपाईंको पालिकामा शाखा भएको बैंकको ब्याज अब कति ?

काठमाडौँ । १८ वटा बैंकहरुले ब्याजदर घटाएका छन् । सार्वजनिक सूचना नै जारी गर्दै ब्याजदर घटाएको जानकारी दिएका बैंकहरुले घटाएको नयाँ ब्याजदर आजदेखि लागू भएको छ ।

मंसिरको तुलनामा पुसमा सबै बैंकहरूको ब्याजदर घटाएका छन् । बैंक तथा वित्तीय संस्थाहरूसँग पर्याप्त तरलता भएकाले निक्षेपको ब्याजदर घटाउन थालेका हुन् । साथै, ब्याजदर उच्च हुँदा कर्जा प्रवाह सुस्ताएकाले सोको लागत घटाउन पनि बैंकहरूले ब्याजदर घटाउन थालेका हुन् ।

यस्तै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् नीतिगत दर घटाउँदा निक्षेपको ब्यादर घटाउनुपर्ने बैंकहरूलाई दबाब सिर्जना भएको थियो । सोही कारण निक्षेपको ब्याजदर घट्दा स्वतः कर्जाको ब्याजदर पनि घट्दै जाने अवस्था देखिन्छ ।

कुुनको कति ब्याजदर ?

हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत तोकेको ख । नेपाल एसबीआई बैंक र माछापुच्छ्रे  बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.६ प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत दिने भएका छन् ।

लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत निर्धारण गरेका छन् ।

एभरेस्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत र एनएमबी बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याज दिने भएका छन् ।

सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याज निर्धारण गरेको छ ।

नेपाल बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५५ प्रतिशत र संस्थागततर्फ ६.५५ प्रतिशत, सिटिजन्स बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३५ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत रहेको छ ।

कृषि विकास बैंकमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.०१ प्रतिशत र संस्थागततर्फ ७.०१ प्रतिशत ब्याज पाइने भएको छ ।

नबिल बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५६ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याज तोकी नयाँ सूची प्रकाशित गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत, कुमारी बैंकमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३१ प्रतिशत र संस्थागततर्फ ७।३१ प्रतिशत, एनआईसी एसियामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६७ प्रतिशत र संस्थागततर्फ ६.६७ प्रतिशत ब्याजदर कायम गरिएको छ ।

प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याज दिनेछन् ।

प्राइम बैंकले पुस महिनाका लागि ०.२५ प्रतिशत घटाए पनि दोहोरो अंकमा नै कायम छ । बैंकले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले मंसिरमा व्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

दुुई बैंकको स्थीर

१८ वटा बैंकहरुले आइतबारदेखि नयाँ ब्याजदर लागू गर्दा प्रभु र  सानिमा बैंकले मंसिर महिनाकै ब्याजदर लागू गरेका छन् । अन्य बैंकले ब्याजदर घटाएपनि यी दुुई बैंकले नघटाएका हुन् ।

यी दुवै बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर प्रदान गर्ने छन् ।

नेपाल राष्ट्र बैंकले देशभरका सबै पालिकामा बाणिज्य बैंकको शाखा अनिवार्य रुपमा पुग्नैपर्ने नीतिगत व्यवस्था गरेको छ । सोही कारण दुर्गमका पालिकाहरुमा समेत बाणिज्य बैंकहरुले शाखा खोलेका छन् । र, कतिपय स्थानीय तहमा भने एउटा मात्रै बाणिज्य बैंकको शाखा छ । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update