Odapalika - The Fourth Estate - चौथो अंग
फोन गर्न अब रुख चढ्नै पर्दैन तातोपानी गाउँपालिकास्थित हाँकुबासीले

काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज भएको छ । 

माथिल्लो कर्णालीका धेरैजसो टेलिफोन टावर सौर्य उर्जा प्रणालीबाट सञ्चालित भएकाले घाम लागे मात्रै टेलिफोन टावर सञ्चालन हुने गरेका छन् । हातमा स्मार्ट मोवाइल सेट भए पनि नेटवर्क नै नहँुदा खबर आदानप्रदान निकै समस्या हुने गरेको छ । 

टावरमा विद्युत जोडिए पछि जुनसुकै बेला पनि टेलिफोन सेवा सञ्चालन हुने गरेको वडाध्यक्ष अमरबहादुर रोकायाले बताए । यसअघि त्यो टावरमा सोलार प्रणाली जडान हुँदा विहान ७ बजेदेखि बेलुका ६ बजे घाम हुदासम्म मात्रै टेलिफोन सेवा सञ्चालन हुने गरेको थियो । 

‘टेलिफोन नेटवर्क नहुने समस्याबाट मुक्त हुन टावरमै विद्युत लाइन पु¥याइएपछि सहज भएको छ । अब गाउँमा २४ सै घण्टा टेलिफोन सेवा सञ्चालन हुने भएको छ ,’ अध्यक्ष रोकायाले भने । 

समुन्द्र सतहबाट २ हजार ८५० मिटर उचाईको हाँकुलाग्ना टावरमा गिडीखोलाको जाल्पादेवी विद्युत आयोजनाबाट विद्युत लाइन पु¥याएपछि यो क्षेत्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमवाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिड, कोटिला, रोकायावाडालगायत गाउँमा राति पनि नेटवर्क आउने गरेको स्थानीयवासी बताउँछन् ।

१५ लाख रुपैयाँको लागतमा  हाँकुलाग्ना टावरमा विद्युतको लाइन पुगेपछि धेरै गाउँ बस्तीका नागरिकलाई  टेलिफोन पहुँच पुगेको छ । वडा कार्यालयको ६ लाख र सुर्खेतस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालयको ९ लाख ९६ हजारमा टावरमा विद्युत लाइन पुगेसँगै स्थानीय अब टेलिकमको फोरजी इन्टरनेटको पहुँचमा समेत पुगेका छन् । 
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update