Odapalika - The Fourth Estate - चौथो अंग
बसन्तपुरमा बिस्तारै फक्रदै छन् गमलाका फूल 

काठमाडौँ । बसन्तपुरमा रहेको काष्ठमण्डप क्षेत्रमा सौन्दर्यात्मक कार्यक्रम थालनी गरिएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले वडा कार्यालय, शार्दुलजंग गुल्म, स्थानीयबासीहरुको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेको छ । 

२९औँ महानगर दिवसको अवसरमा पारेर फूल राख्न आयोजना गरिएको कार्यक्रममा वडा नंं १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा सदस्यहरु, शार्दुलजंग गुल्मका गुल्मपति पूर्ण प्रजापति र स्थानीयबासी सहभागी थिए ।

वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धरका अनुसार सम्पदा क्षेत्रमा सवारी प्रवेश गरेपछि सामाजिक सांस्कृतिक कार्यक्रममा असर रोक्न यो अभियान थािलएको हो । 

परिसरमा १२ वटा फलामे स्ट््याण्डमा ४८ वटा फूलसहितका गमला राखिएका छन् । दरबार संरक्षण कार्यक्रमको सहयोगमा शार्दुलजंग गुल्मले यसको व्यवस्थापन गरेको हो । गुल्मपति प्रजापतिका अनुसार  महानगरपालिकासँग मिलेर स्थानीय सरोकारका क्षेत्रमा भएको यो महत्वपूर्ण उपलव्धि हो । 

यो कामलाई बसन्तपुर क्षेत्रभर विस्तार गर्ने दरबार संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए । यसअघि बसन्तपुर जुद्धशालिक अगाडि कुमारी घरतर्फ र झोछेँ क्षेत्रमा करिब १२० वटा फूलसहितका गमला राखिएका छन् । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update