Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको महत्वाकांक्षी योजनाः १५ हजारलाई निःशुल्क तालिम, ५ हजारलाई रोजगारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सफ्टवेयर डिभलपमेन्ट तालिम सुरु गरेको छ ।  चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ३४ विधामा १५ हजार युवालाई सिपमूलक तालिम दिने, तीमध्ये ५ हजार व्यक्तिलाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित तालिम कार्यक्रम थालिएको हो ।

राष्ट्रिय सभा गृहमा तालिम शुभारम्भ गर्दै सामाजिक समितिका संयोजक रामकुमार केसीले काठमाडौँ कोही पनि युवाले वेरोजगार बस्नु नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सुरु गरेको बताए । 

‘हामीले प्रदान गरेको निःशुल्क तालिम रोजगारमूलक तथा स्वरोजगारमूलक हो । हामी युवालाई आफैँ उद्यम गर्न सक्षम बनाउँछौँ । रोजगार क्षेत्रमा जान चाहनेलाई योग्य बनाउँछौँ,’ उनले भने । 

तालिमबाट व्यक्तिमा भएको सीप रोजगारका लागि योग्यता मापन गर्न सक्ने क्षमता हुने महानगरको भनाई छ । कार्यक्रममा समितिका सदस्य महेश नेपालीले क्षमता भएका तर योग्यताका लागि पेश गर्नुपर्ने प्रमाण पत्र नभएका युवालाई तालिमबाट प्रतिस्पर्धी र योग्य जनशक्ति बनाएर स्वरोजगार बनाउने उद्धेश्य रहेको बताए । 

महानगर सामाजिक विकास विभागका प्रमुख बिमला कोइरालाले महानगरपालिकाले लिएको तालिमबाट म केही गर्छु भन्ने सोच राखेर काम गर्न सहभागीलाइ आग्रह गरिन् । 

२ महिने तालिमका लागि २४४ जनाले आवेदन दिएकामा छानिएका ४० जनालाई २ सिफ्टमा विभाजन गरेर तालिम आयोजना गरिएको फोकल पर्सन शान्ता पहाडीले बताइन् । 

सफ्टवेयस विकास तालिम पाठ््यक्रमको उद्देश्य सहभागीलाई सफ्टवेयर विकास सम्बन्धी एकीकृत ज्ञान र सिप प्रदान गर्नु हो । १२५ घण्टे यो तालिममा ७५ घण्टा अन द जब तालिममा आधारित हुन्छ । सिकाइको २० प्रतिशत सिद्धान्त र ८० प्रतिशत प्रयोगात्मक कक्षा हुनेछ । 

कम्प्युटर बिज्ञान, सूचना प्रविधि, इञ्जिनियरिङ्जस्ता विषयमा भर्खर स्नातक तह उत्तीर्ण गरेका, अन्य गैर प्राविधिक क्षेत्रबाट प्राविधिक क्षेत्रमा आउन तीब्र इच्छा भएका कोडिङ् तथा प्रविधिको विकासमा लाग्न जोश भएका व्यक्तिहरुलाई तालिममा सहभागी गराइएको छ । 

मोडलिङ्, व्रेम स्ट्रमिङ्, दृश्य संकेतको प्रयोग, व्यक्तिगत कार्यशाला तथा सामुहिक कार्यशाला, प्रदर्शन तालिमका विधि हुन् ।  

प्रोग्रामिङ्को आधारभूत ज्ञान, कम्प्युटर साक्षरता, तालिम लिएर केही गर्न सक्छु भन्ने प्रतिवद्धता, अंग्रेजी भाषाको ज्ञान भएका, इन्टरनेट र व्यक्तिगत कम्प्युटर वा ल्यापटपमा पहुँच भएका आवेदकलाई तालिममा छनोट गरिएको छ । 

तालिम पाएका ९० प्रतिशत सहभागी रोजगारी क्षेत्रमा गएको वा स्वरोजगार भएको, रोजगारमा गएकाहरुको कार्य सम्पादनबाट रोजगारदाता सन्तुष्ट भएको, अहिलेभन्दा ५० प्रतिशत बढी आम्दानी गर्न थालेको तालिम सफलताको सूचकका रुपमा राखिएको छ । 

तालिमका ३४ बिधामध्ये १० विधामा सरकारी तालिम प्रदायक कार्यालयसँगको सहकार्य हुनेछ । यसमा इलेक्ट्रिसियन, प्लम्बरिङ्, कम्प्युटर हार्डवेयर, मोटरसाइकल मर्मत तालिम, हलुका सवारी साधन मर्मत तालिम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) सँगको सहकार्यमा हुनेछ । 

यस्तै फास्टफुड, चाइनिज, इन्डियन कुकिङ्, बारिस्ता, बार टेन्डिङ् वेटर वेट्रेस र पर्यटक पथ प्रदर्शक (टुरिष्ट गाइड) तालिम नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसँगको सहकार्यमा हुनेछ । 

तालिमबाट उत्पादन भएका जनशक्तिलाई अवसर प्रदान गर्ने विषयमा यस अघि उद्योग तथा वाणिज्य क्षेत्र, विकास साझेदारसहित क्षेत्रगत छलफल भइसकेको छ । 

यसरी तालिम दिएका युवालाई अर्को स्वर्णिम योजना ‘श्रम वैङ्क’ मा आवद्ध गराएर रोजगारदातालाई आवश्यक परेका जनशक्ति प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने महानगरको भनाइ छ । 

बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरु, विदेशवाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका), सिप नजानेका, सिप जानेका तर स्तरोन्नति गर्नुपर्ने अवस्थामा रहेका व्यक्ति तालिमका लक्षित वर्ग हुन् । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update