Odapalika - The Fourth Estate - चौथो अंग
गोदावरी नगरपालिकाको पहलमा पढ्न थाले गृहिणी  

ललितपुर । गोदावरी नगरपालिका–१२ ठेचो बस्ने राममाया महर्जन ४७ वर्षको उमेरमा नियमित विद्यालय जान थालेकी छन् । चापागाउँको वाणीविलास उमाविमा कक्षा १ मा भर्ना भएकी उनी सावा अक्षरमात्र पढ्न सक्छिन् । 

विद्यालय जाने उमेरमा आर्थिक अभाव, चेतनाको कमीजस्ता कारणले विद्यालय देख्न नपाएकी उनीजस्ता १५० भन्दा वढी गृहिणीहरु अहिले गोदावरी नगरपालिकाको पहलमा कक्षा कोठामा पुग्न थालेका छन् । 

नगरपालिकाले गत १ साउनबाट पालिकाभित्रका विद्यालय जानबाट बञ्चित गृहिणीहरुलाई लक्षित गरेर सुरु गरेको गृहिणी महिला विद्यालयमा भर्ना भएर कक्षा लिनेको संख्या वढ्न थालेको छ । 

गोदावरी नगरपालिकाले उपमेयर मुना अधिकारीको नेतृत्वमा सुरु गरेको महिला विद्यालय अभियान अन्तर्गत हाल कक्षा १ देखि ५ सम्म संचालनमा आइसकेको छ । 

पालिकाले बीचैमा विद्यालय छाडेका गृहिणीलाई समेत पढाउने लक्ष्यका साथ १ देखि ५ सम्म पहिलो चरण र ८ देखि १० कक्षासम्म दोस्रो चरणमा पढाइ थाल्ने बताएको छ । 

पहिलो चरण अन्तर्गत पालिकाभित्रका ३ वटा विद्यालयमा १ साउनबाटै कक्षा सुरु भइसकेको छ ।  नेपाल सरकारले तयार पारेको पाठ्यक्रमसँग मिल्नेगरी पालिकाले गृहिणीहरुका लागि बेग्लै कोर्ष डिजाइनसमेत थालेको मेयर गजेन्द्र महर्जन बताउँछन् । 

महर्जनका अनुसार गृहिणी महिला विद्यालयका लागि पालिकाले यसवर्ष ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेर काम अघि वढाइसकेको छ । 

१ साउनबाट वुद्ध मावि वाँडेगाउँमा कक्षा १ देखि ५ सम्मको पढाइ सुरु भइसकेको छ । पालिकाभित्रका ३ वटा सामुदायिक विद्यालयमा गृहिणीहरुका लागि कक्षा कोठा र शिक्षकको व्यवस्था गरिएको छ । 

महर्जनका अनुसार चापागाउँस्थित वाणी विलास उच्चमावि र गोदावरीको किटिनी माविमासमेत गृहिणी महिला विद्यालयका कक्षा सुरु भएका छन् । 

bani bilas1690446899.jpg
प्रशासनिक काम गर्दै वाणी विलास माविका शिक्षकहरु ।
 

चापागाउँस्थि बाणीविलास माविका सहायक प्रधानाध्यापक ऋषिकेश आचार्यका अनुसार सो विद्यालयमा हाल ४५ जनाभन्दा वढी गृहिणीहरुले कक्षा लिइरहेका छन् । २ दिन अघिबाट मात्रै यहाँ कक्षा सुरु भएको छ । 

२ सिफ्टमा जारी कक्षामा सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत र १२ कक्षा सकेका विद्यार्थीलाई तत्कालका लागि शिक्षकका रुपमा जिम्मेवारी दिइएको छ । ती शिक्षकको पारिश्रमिक भने पालिकाले नै उपलव्ध गराउने उनको भनाइ छ । 

उपमेयर मुना अधिकारीका अनुसार पालिकाले पहिलोपटक गृहिणीहरुलाई शिक्षाको उज्यालोसँग जोड्ने अभियान थालेको जानकारी दिदै नगरपालिकाकै पहलमा कक्षा १० सम्म पढाउने लक्ष्य रहेको बताइन् ।  
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update