Odapalika - The Fourth Estate - चौथो अंग
बर्दिबासमा जडिबुटी बेचिरहेका सिंजाका ४५ जना विद्यार्थी 

महोत्तरी । जुम्लाको सिंजा गाउँपालिकास्थित काडागाउँवाट पढाइ खर्च जोहो गर्ने उद्धेश्यले जडिबुटी बच्दै विद्यार्थीहरु महोत्तरी आइपुगेका छन् ।

हिउँ परेको कारण विद्यालयले दिएको १ महिना बिदाको सदुपयोग गर्दै जडिबुटी वेच्न उनीहरु यहाँ बर्दिबास झरेका हुन् ।

काडागाउँ स्थित विभिन्न विद्यालयमा अध्ययनरत ४५ जना छात्र महोत्तरी आइपुगेको मनोज शाहीले वताए । ‘अहिले महोत्तरीको विभिन्न गाउँमा यार्सागुम्बा, सिलाजित, विरेनुन, हिङ्ग जस्ता जडिबुटी वेचिरहेका छौँ,’ साहीले भने ।

१९वर्षीय साही पनि गाउँ कै एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छन् । जडिबुटी तराइमा बढी मन पराउने भएका कारणले बुबाको सल्लाहअनुसार महोत्तरी आएको शाहीले वताए ।

उनीहरुका परिवार नै जडिबुटी बिक्री गरेर जीवन निर्वाह गरिरहेका छन् । उत्पादन कम हुने र यातायात सुविधाको अभावमा बजारको समेत समस्या पर्ने हुँदा तराई झरेर बेचेको पैसाले खाद्यान्न किनेर लैजाने गरेको उनीहरु बताउँछन् ।

‘कापी, किताब किन्न समेत निक्कै समस्या हुन्छ,’ अर्का छात्र दिपकराज शाहीले भने, ‘कमसेकम एक महिना बेचियो भने त्यो अभाव खेप्न पर्दैन ।’

वाक्लो बस्ती र धेरै हिडिराख्न नपर्ने हुदा जडिबुटी बिक्रीवितरण गर्ने तराई उत्तम गन्तव्य भएको विद्यार्थीहरुको भनाइ छ । त्यसैले वर्षेनी मधेस झर्ने गरेको गोपाल शाहीले वताए । उनीहरुले एकपटमा ५० हजार रुपैयाँ बराबरको जडिबुटी बेच्ने गरेको बताएका छन् । 

बढीजसो सिलाजित, यार्सागुम्बा र पिनास ठीक गर्ने जडिबुटी बिक्री हुने गरेको उनीहरु बताउँछन् । ‘यी जडिबुटीमा मानिसहरु परिचित भएर पनि होला धेरै बिक्री हुन्छ,’ अर्का छात्र सिंहराज शाहीले भने ।

सिंजा गाउँपालिकामा जनप्रतिनिधिहरु जनभावना बुझ्ने नहुँदा छात्र मात्र हैन गाउँमा लोग्ने मान्छे समेत नबस्ने विद्यार्थीहरुकाे गुनासो छ ।

सिंजा आफै पनि ऐतिहासिक ठाउँ हो ।  जहाँ  केदारनाथ तिर्थस्थल,   देउमाई, मालिका बाँओ, रोप्नीमाई पंचदेवल, त्रीदेवल जस्ता प्रसिद्ध मण्दिर छन भने हिमनदिको समेत दृश्यावोलकन गर्न सकिन्छ । 

विभिन्न अमुल्य जडिबुटी यही पालिकामा पाईने हुदा आयआर्जनको मुख्य स्रोत स्थानियहरुको जडिबुटी नै रहेको विद्यार्थीहरु बताउँछन् ।

यहाँका धेरैजसो अभिभावकहरु रोजगारीको लागी भारत जाने र छोराछोरी जडिबुटी संकलन गरेर विद्यालय विदा भएपछी बिक्री गर्न निस्कने गोपाल साही बताउँछन् ।
 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update