Odapalika - The Fourth Estate - चौथो अंग
स्याङ्जाको पुतलीबजार नगरपालिकामा २०६ परिवार अतिगरिब, मध्यम र सामान्य गरिब कति ?

काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा २०६ परिवार अतिगरिब भएको फेला परेको छ । 

नगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ अनुसार गरिब परिवारको सुची सार्वजनिक गर्दा सो संख्यामा अतिगरिब परिवार रहेको तथ्य सार्वजनिक भएको हो ।

नगरपालिकाले सार्वजनिक गरेको सुची अनुसार २०६ परिवार अतिगरिब छन् । यस्तै ३६२ घरपरिवार मध्यम गरिब छन् भने सामान्य गरिब घरपरिवारको संख्या २५३ रहेको छ ।

गरिब नै छुटेको गुनासो

यसरी तथ्यांक सार्वजनिक भएपछि आफूहरु छुटेको गरिब घरपरिवारबाट गुनासो आएको सो नगरपालिकाका मेयर तुलसीराम रेग्मीले बताए ।

‘पहिला तयार भएको तथ्यांकको आधारमा हामीले गरिब घरपरिवारको नामावलीसहित तथ्यांक सार्वजनिक गर्यौं । केही घरपरिवारले हामी छुट्यौं भनेर गुनासो गरेका छन्,’ मेयर रेग्मीले वडापालिकासँग भने ।

जनस्तरबाट जायज गुनासो आएपछि नगरकार्यपालिकाको बैठक राखेर गुनासो सम्बोधनको पहल गर्ने सोच बनाइएको मेयर रेग्मीले बताए ।

‘गरिब घरपरिवारमा संलग्न हुनेहरुको सुची सो सुचीमा पर्नुपर्ने केही परिवार छुटेको जस्तो देखिन्छ । गुनासो गर्नेहरुको जायज गुनासो पनि छ । त्यसैले एक पटक नगरकार्यपालिकाको बैठक राखेर सुची सच्याउन मन्त्रालय (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय) सँग अनुरोध गर्ने सोच बनाएको छु,’ मेयर रेग्मीले भने ।

सच्याउन मिल्दैनः मन्त्रालय

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भने सो नगरपालिकाको गरिब घर परिवारको परिचय सच्याउन नमिल्ने बताएको छ । मन्त्रालयको सोही महाशाखाका उपसचिव झविन्द्रप्रसाद पाण्डेयले स्याङ्जाको पुतलीबजार नगरपालिकाको सुची सच्याउन नमिल्ने बताए ।

‘गत वर्ष हामीले कुनै विवरण सच्याउनु पर्ने भए सच्याएर पठाउनु भनेर स्याङ्जाका स्थानीय तहहरुलाई पत्राचार गरेका थियौं । तोकिएको समयभित्रमा उहाँहरुले सच्याएर सुची पठाउनु भएको छ । तोकिएको समयभित्र सुची सच्याउन नपठाउनेहरुको हकमा यही सुची ठिक रहेछ भन्ने हामीले ठानेका छौं । त्यसैले सो नगरपालिकाको गरिब घरपरिवारको सुची सार्वजनिक भएर परिसचयपत्र नै बनिसकेकोले अब सच्याउन मिल्दैन,’ उपसचिव पाण्डेयले वडापालिकासँग भने ।

सुची तयार भएपछि मन्त्रिपरिषदले निर्णय गरेर सार्वजनिक गरिएको तथा सोही आधारमा परिचयपत्र समेत बनिसकेकोले सच्याउन नमिल्ने उनको भनाइ छ । गरिब घरपरिवारको सुची सार्वजनिक नभएका र परिचयपत्र बनिनसकेका स्थानीय तहको हकमा भने सुची सच्याउन मिल्ने उनले बताए ।

यस्तो छ पुतलीबजार नगरपालिका भित्रका गरिब घरपरिवारको नामावली 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update