Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीज्यू ! हामीलाई ओखरपौवाबासीको पाप लाग्छ 

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा ३ ठाउँमा बन्न लागेका फ्लाई ओभरहरु एकै चरणमा बनाउनुपर्नेमा जोड दिएका  छन् । 

सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा मेयर महर्जनले ‘ग्वार्खो फ्लाई ओभर’ निर्माणको काम ढिलो भएको प्रति असन्तुष्टि जनाए । 

उनले ललितपुरमा तीन ठाउँमा बन्न लागेका फ्लाई ओभरहरु सबै एक चरणमा बनाउनुपर्नेमा जोड दिदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चाँडो सक्नेगरी एकै चरणमा निर्माणको काम गर्न प्रस्ताव राखेका हुन् । 

संगै कार्यक्रममा उपस्थित प्रधानमन्त्री दाहालललाई उनले भने, ‘हाम्रो ‘फ्लाई ओभर छिटो बनोस् । यो पुलको कारणले अहिले ललितपुरमात्रै होइन काठमाडौंको पनि ट्राफिक अस्तव्यस्त भएको छ । यसको निर्माण अवधि ३० महिनाको छ । ३० महिनाको दौरानमा यहाँको ट्राफिक यति खत्तम भयो कि कुरा गरेरै साध्य छैन् ।’

उनले ललितपुरमा निर्माणको योजनामा रहेका थप २ वटा इन्टरसेक्सन फ्लाई ओभर र एउटा अन्डर पास बनाउनका लागि मेयर ३ ओटाको एउटै टेण्डरमा काम सुरु गरी सम्पन्न गर्न संघीय सरकारलाई प्रस्ताव गरे । त्यसो गरे तीनमध्ये एउटाको निर्माण लागत महानगरले नै बेहोर्ने उल्लेख गरे । 

‘ग्वार्खो भन्दा माथि सातदोबाटो जाने बाटो ,त्यो भन्दा पनि माथि चापागाउँ जाने बाटो, त्यसपछि एकान्त कुनामा गरी २ वटा इन्टरसेक्सन फ्लाई ओभर, एउटा अन्डर पास बनाउन बाँकी छ । ग्वार्खोको यो फ्लाई ओभर बनाउन समय थपेर अब ४० महिना लाग्ला, अरु तीनओटा बनाउँनलाई १२० महिना जाने भयो । यो त भएननि! हामी नै बुढो भएर सिद्धिन्छौं । हामीले प्रयोग नै गर्न पाउँदैनौँ,’ उनले भने । 

उनले प्रधानमन्त्री प्रचण्डलाई म सम्माननिय प्रधानमन्त्रीज्युलाई एउटा प्रस्ताव राख्न चाहान्छु । बनाउनुपर्ने तीनओटा पुल मध्ये तीनओटै एकैचोटी बनाऔँ । २४ महिना वा ३० महिना जति समय लाग्छ, त्यो तोकिएको निर्माण समयावधिभरमा तीनओटै पुल बनोस् । पटक पटक गरेर होइन एउटै टेण्डरले सबै काम पूरा हुनुपर्छ भन्ने मेरो सुझाव हो ।’

मेयर महर्जनले सम्पदा शहरका मन्दिर, देवालयहरु टेण्डर बनाएर काम सम्पन्न हुनै धेरै समय लाग्ने उल्लेख गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन नसक्ने बताए । 

उनले ललितपुर महानगरसम्पदा सहर भएकाले सम्पदा पुर्ननिर्माणको कामलाई तिव्रता दिनुपर्ने धारणा राखे । 

नगरपालिकाको पहलमा बनाएका भिमसेन मन्दिर, बालकुमारी मन्दिरलगायतको मन्दिरको उदाहरण दिदै टेण्डरबाट गर्ने काम सार्वजनिक खरिद ऐन २०६३ को व्यवस्था र प्रक्रिया भित्र रहेर गर्दा त्यहाँ भित्रका लुप होलको कारणले गर्दा समयमै नबन्नेउनको तर्क थियो ।

‘ललितपुर महानगरपािलका सम्पदा सहर हो । यो सम्पदा सहरका मठ,मन्दिर, देवालय, शिवालयहरु टेण्डर गरेर बनायो भने केही पनि काम हुँदैन । उदाहरणको लागि जगत नारायणको मन्दिर हाम्रा सामु छ । नेपालको सबैन्दा बेस्ट तेह्रकोटा मन्दिर अहिले ग्राउण्ड जेरोमा छ । कारण सार्वजनिक खरिद ऐन २०६३ मै पारेर टेण्डर गरियो । त्यहाँ लुपहोल धेरै छन्,’ उनले भने ।  

उनले उपत्यकाको फोहोरको थुपारिएको ओखरपौवालाई सफा गर्नु नितान्त आवश्यक रहेको बताएका छन् ।  उनले उपत्यकाबासीले ओखरपौवाको जनतालाई दुःख दिईरहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि आफूले पहल गरेको बताए । 

उनले भने, ‘हामीले ओखरपैवाको जनतालाई दुःख दिईराखेका छौं । उहाँहरुलाई एक किसिमले हामीले श्राप नै दिएजस्तो छ । यो गर्नु हुँदैन । हामीलाई पाप लाग्छ । यो कुरामा लेगेसीको आधारमा ओखरपैवा सफा गर्नु नितान्त आवश्यक छ । मैले इण्डिया घुमेर आएपछि मैले प्रधानमन्त्रीज्युलाई त्यहाँको फोहोर व्यवस्थापनबारे गरेको कामको मौखिक रिपोर्ट दिए । उहाँले क्याविनेटबाट पास गरेर काम अगाडि बढाउँछु भन्नुभएको छ ।’

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update