Odapalika - The Fourth Estate - चौथो अंग
कर्णाली प्रदेशको विकासको अभिन्न अंग खेलकुदलाई बनाउँछौ : मुख्यमन्त्री शर्मा

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले खेलकुद क्षेत्रलाई कर्णालीको अभिन्न अंग बनाईने बताएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरको कालिञ्चोक क्रिकेट मैदानको निर्माण कार्यको शुभारम्भ गर्दै उनले खेलकुद क्षेत्रबाट अब्बल कर्णाली प्रदेश बनाउने लक्ष्य रहेको बताएका हन् । 

मुख्यमन्त्री शर्माले खेलकुदका लागि पूर्वाधार निर्माण गर्ने क्रममा क्रिकेट मैदानको शुभारम्भ  हुनु कर्णाली समृद्धिको अङ्गका रुपमा लिन सकिने बताए । ‘कर्णाली खेलकुदका क्षेत्रमा विस्तारै माथि उठ्दै छ । पूर्वाधार निर्माण र खेल प्रतियोगितामा हासिल गरेको प्रगतिले एकदिन कर्णालीको राष्ट्रिय पहिचान बनाउने विश्वास छ । खेलकुदका क्षेत्रबाट अब्बल कर्णाली बनाउनेमा हामी प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहान्छु’, उनले भने ।

उनले अहिले कर्णाली सरकार प्रदेश गौरवको आयोजनाको रुपमा रहेको प्रादेशिक रङ्गशाला निर्माणमा केन्द्रित रहेको बताउँदै यसपश्चात कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रहरुमा समेत खेलकुद पूर्वाधार निर्माण गरिने जानकारी दिए ।

खेलकुद विकास गर्नको पूर्वाधार, प्रतियोगिता , प्रोत्साहन तथा कार्यक्रम आत्मासात गरेर काम गर्ने मुख्यमन्त्री शर्माको भनाई छ । शिलान्यास गरिएको कालिञ्चोक  क्रिकेट मैदान आगामी चैत ३० गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ । यसका लागि केपीडीडी कन्स्ट्रक्सन वीरेन्द्रनगर र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच निर्माण सम्झौता भएको छ ।

७३ लाख १८ हजार लागतमा निर्माण हुने खेलकुद मैदानको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने, दूबो लगाउने र ल्यान्ड स्क्यापिङ गरी हरियाली गर्ने काम हुने जनाइएको छ ।

उक्त क्रिकेट मैदान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कपमा सहभागिता जनाउने महिला क्रिकेट खेलाडीहरुलाई विदाई समेत गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update