Odapalika - The Fourth Estate - चौथो अंग
महानगरको पुस्तकबिहीन शुक्रबारः १५ शुक्रबार, १५ विषय 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ‘पुस्तकरहित शुक्रवार कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि ८ सम्म  व्यवहारिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक संघसंस्थाले विद्यालयमा सूचीकृत हुन पाउने भएका छन् । 

कक्षा ९ र १० मा गएको शुक्रबारदेखि ‘शिक्षामा सीप’ तालिम कार्यक्रम सञ्चालन भइसकेको छ । यसका लागि विद्यालयहरुले तालिम प्रदायक संघसंस्थाहरुलाई सूचीकृत गरेर सेवा लिन थालेका हुन् ।

महानगरको ‘पुस्तकरहित शुक्रवार कार्यक्रम’ गएको बर्षदेखि निरन्तर चलिरहेको छ । शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार यसरी सञ्चालन हुने कार्यक्रमका लागि महानगरले छुट्टै बजेटको व्यवस्था गरेको छ ।  

सूचीकृत हुनेले चालु आर्थिक बर्षको अन्त्यसम्म विदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबार लागि शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हरेक शुक्रबार ६ घण्टाका कक्षा हुनेछन् । 

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार पाठ््यक्रम, दररेटसहित खर्चको प्रस्ताव, कार्यक्रम सञ्चालनका लागि प्रयोग गरिने सामग्रीको विवरणसहित प्रस्तावक आफूले तालिम सञ्चालन गर्न चाहेको विद्यालय सूचीकृत हुन सक्नेछन् ।

उनका अनुसार कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बाल समूहहरु गठन गरिसकिएको छ । कारागारभित्रका, फरक क्षमता भएका बालबालिकाका सञ्चालन भएका र रात्रीकालीन विद्यालय बाहेक ८१ वटा विद्यालयमा समूह गठन गरिसकिएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update