Odapalika - The Fourth Estate - चौथो अंग
रित्ता गाग्री देखाउँदै स्थानीयको आक्रोसः १७ अर्ब सक्ने, धारामा मेलम्ची कहिले खस्ने? 

काठमाडौँ । मेलम्ची खानेपानी संघर्ष समिति सरकार विरुद्ध सडकमा उत्रिएको छ । काठमाडौ उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनामाथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा रित्ता भाँडा देखाउँदै गरेको प्रदर्शन प्रहरीले तितरवितर पारेको छ ।

यसअघि अर्थमन्त्री प्रकाशशरण महत र खानेपानीमन्त्री महिन्द्र राय यादवलाई भेटेर ज्ञापन पत्र बुझाइसकेको समितिले आज तिनकुने क्षेत्रमा सरकारलाई दबाब दिनपुगेको थियो । 

उनीहरूले ‘मेलम्ची पानीमाथिको चलखेल बन्द गर’, ‘मेलम्चीको पानी तुरुन्त खोल’लगायतका नारा लेखेका पोस्टर र पम्प्लेट, रित्तो गाग्री, बाल्टिनलगायतका सामग्री बोकेर प्रदर्शन गरेका थिए ।

प्रर्दशनमा नेपाल व्यापार संघका अध्यक्ष समेत रहेका व्यवसायी हरि गौतमले १७ अर्ब खर्च गरेर पनि नेपाली जनताले मेलम्चीको पानी खान नपाएको भन्दै आक्रोश पोखे । 

उनले यो राजनीति नभई पानीको आन्दोलन भएकोले छिटोभन्दा छिटो पानी काठमाडौँ आउनुपर्ने बताए । 

उनले भने, ‘पानी नदिने मेलम्चीको नाममा खाइ रहन पाइन्छ सरकार पाईँन्, हामी मान्दैनौ, नेपाली जनतालाई झुक्काउन पाइन्छ ? मेलम्चीको नाममा १७ अर्ब खर्च गर्ने तर हामीले पानी नपाउने? नेपाल जलस्रोतमा दोस्रो धनी देश हो,य स्तो देशमा पनि पानी नपाउने, हामीलाई हेप्ने, यो राजनीतिको आन्दोलन होइन, पानीको आन्दोलन हो ।’

प्रर्दशनमा उत्रिएकाले तीनकुनेको बाटो अवरोध गरेपछि प्रहरीले उनीहरूलाई धकेलेर भीड तितरवितर पारेको हो । 

अघिल्लो वर्षको २३ मंसिरमा उपत्यकावासीको धारामा मेलम्चीको पानी झरे पनि यस वर्ष पानी कहिले आउँछ कुनै टुंगो छैन । करिब ६ महिनादेखि मेलम्ची अवरुद्ध हुँदापनि सरकारले चासो नदिएको, मेलम्ची खानेपानी आयोजनाको मुख्यबाँध (हेडवर्क्स)सम्म पुग्ने बाटो हालसम्म निर्माण नभएको तथा मेलम्ची माथिनै बारम्बार राजनीतिक चलखेल भएको भन्दै काठमाडौँवासीले चलखेल बन्द गरी तुरुन्त पानी सञ्चालन गर्न माग गर्दै आज विरोध गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update