Odapalika - The Fourth Estate - चौथो अंग
सर्वोच्चको आदेशले कोशीका मुख्यमन्त्रीको पद गयो, ७ दिन भित्र नयाँ नेतृत्व 

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार कोशी प्रदेश सरकार गठन गर्दा सभामुख बाबुराम गौतमको सहभागिता अवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उद्धव थापालाई नियुक्ति दिने प्रदेश प्रमुखको निर्णय बदर गर्दै नया सरकार गठनका लागि समयसीमा तोकिदिएको छ । 

सभामुख गौतमको हस्ताक्षरमा ४७ जनाको बहुमत देखाएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए । सर्वोच्चको यो आदेशपछि यसअघि नै कामचलाउ बनिसकेका उद्धव थापा पदमुक्त हुने भएका छन् ।

सर्वोच्चको यो आदेशसँगै कोशी प्रदेशमा ३१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा बनेको सरकार ढलेको छ । कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमालेले गत असार २२ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो ।

सर्वोच्च अदालतले ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । नभए अर्को उपधारामा जान भनिएको छ ।

अर्थात अब फेरि संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रयास हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ ।

कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update