Odapalika - The Fourth Estate - चौथो अंग
युनाइटेड सिमेन्टको गोदावरी नगरपालिकाको चुनढुंगा खानी बन्द, यस्तो छ कारण

काठमाडौँ । युनाइटेड सिमेन्ट उद्योगले संचालन गरेको ललिलतपुर जिल्लाको गोदावरी नगरपालिकामा पर्ने चुनढुंगा खानी बन्द भएको छ । 

उद्योगले गोदावरी नगरपालिकामा चुनढुंगा खानी संचालन गरेर धादिङको धुनिवेशी नगरपालिकामा उद्योग संचालन गरेको छ । उद्योगले दैनिक १२ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

खानी तथा भूगर्भ विभागले युनाइटेड सिमेन्ट उद्योगले संचालन गरेको चुनढुंगा खानीको लाइसेन्स रद्द गरिदिएको हो । उद्योगले संचालन गरेकोमध्ये एउटा लाइसेन्स नै रद्द भएको गोदावरी नगरपालिकाको उद्योग तथा सहकारी शाखाका अधिकृत ऋषिराम अधिकारीले जानकारी दिए ।

‘युनाइटेड सिमेन्टले गोदावरी नगरपालिकाभित्र पर्ने लेलेमा संचालन गरेको मध्ये एउटा चुनढुंगा खानीको लाइसेन्स रद्द भएको पत्र खानी तथा भूगर्भ विभागबाट प्राप्त भएको छ,’ अधिकृत अधिकारीले वडापालिकासँग भने ।

यद्यपि, उद्योग आफैले सो चुनढुंगा खानी बन्द गर्नको लागि विभागलाई पत्राचार गरेको थियो । उद्योगले खानी बन्द गर्ने भन्दै लाइसेन्स रद्दको लागि पत्र पठाएपछि विभागले लाइसेन्स रद्द गरिदिएको हो ।

निश्चित समयसम्म खानी प्रयोग गरेर उत्खनन् गरिसकेपछि सो क्षेत्रमा पुनस्थापनाको काम गर्नुपर्ने भएकोले खानीको लागि लिइएको एउटा लाइसेन्स रद्द गर्न विभागमा पत्राचार गरिएको र सोही अनुसार रद्द भएको उद्योगका एक कर्मचारीले जानकारी दिए ।

‘उद्योगले लिएको लाइसेन्समध्ये ८ नम्बरको लाइसेन्स रद्द भएको हो, सो क्षेत्रमा अहिले पुनस्थापनाको काम पनि पूरा भएको छ, हामी (उद्योग) ले पत्र पठाएपछि खानी तथा भूगर्भ विभागले हाम्रो ८ नम्बरको लाइसेन्स रद्द गरेको हो,’ उद्योगका ती अधिकारीले वडापालिकासँग भने ।

उद्योगले पत्र पठाएपछि विभागले लाइसेन्स रद्द गरेको छ । र, सोको जानकारी विभागले गोदावरी नगरपालिकालाई पनि दिएको छ ।

विभागले गत असार मसान्तमा नै लाइसेन्स रद्द गरिसकेको छ । युनाइटेड सिमेन्ट उद्योगले विगत १७ वर्षदेखि गोदावरी नगरपालिकाको लेलेमा चुनढंगा खानी सञ्चालन गर्दै आएको छ ।  

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update