Odapalika - The Fourth Estate - चौथो अंग
पञ्चवर्षीय याेजना बनाउने तयारीमा विराटनगर महानगरपालिका  

काठमाडौँ । विराटनगर महानगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल भएको छ ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको छलफलमा विराटनगरको विकासका लागि आर्थिक वर्ष २०८०–८१, २०८४–८५ को आवधिक योजनाका विषयमा छलफल भएको हो । 

विराटनगरको विकासका लागि महानगरले दीर्घकालीन योजना बनाएर काम गर्ने लक्ष्यका साथ पञ्चवर्षीय आवधिक योजनाका विषयमा छलफल गरिएको मेयर नागेश कोइरालाले बताए । 

विराटनगरको भौतिक संरचना, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग–व्यवसायलगायतका विषयलाई समेटेर तयार पारिएको आवधिक योजना विकास विज्ञ डा. रामचन्द्र लामिछानेले प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा भावी पुस्ताले कस्तो विराटनगर चाहेका छन् भनेर योजनाका साथ काम गर्नुपर्नेमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले बताए ।

उनले आगामी १० वर्षसम्मका लागि सडक, विद्यालय, बत्ती, खानेपानी सहितका आधारभूत कुरालाई समेटेर योजना बनाउनु आवश्यक रहेको उल्लेख गरे । 

कार्र्यक्रममा वडाध्यक्षहरु काजीबहादुर बस्नेत, भौतिक पूर्वाधार विकास समितिका संयोजक तीर्थेन्द्र नेउपाने, कुमार पोखरेल, श्याम घिमिरे, बासुबहादुर बस्नेत, विश्वनाथ भगत, सूर्यनारायण यादवलगायतले महानगरको विषयगत समितिमा व्यापक छलफल गरेर मात्रै आवधिक योजनालाई अन्तिम रुप दिन सुझाव दिएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update