Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र 

काठमाडौँ । कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिक गरिएको छ । द एशिया फाउन्डेसनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मंगलबार आयोजना गरेको कार्यक्रममा पाश्र्वचित्र सार्वजनिक गरिएको हो ।

त्यसक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निजी क्षेत्रलाई सरकार बाहिरको दोस्रो पक्षको रुपमा हेरिने अवस्था अन्त्य नभएसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए ।

निजी क्षेत्रले उद्योग व्यवसाय गरेर रोजगारी सृजना गर्ने, आन्तरिक उत्पादन खपत गरी कृषि लगायतका प्राथमिक क्षेत्रको मूल्य अभिबृद्धिमा योगदान गर्ने तथा राजस्व तिरेर विकासका कामका लागि सरकारलाई स्रोत जुटाउने कार्य गर्ने हुनाले विकास र समृद्धिमा निजी क्षेत्रको योगदानको सबै पक्षबाट कदर हुनुपर्ने उनले बताए ।

कोशी प्रदेश सरकारले औद्योगिक सुरक्षा नीति भर्खरै जारी गरेको बताउँदै मुख्यमन्त्री कार्कीले २ अर्बभन्दा बढी लगानी भएका उद्योगका लागि आवश्यक परेमा उद्योग परिसरमा तैनाथ हुने गरी सुरक्षाकर्मी उपलब्ध गराउने बताए । 

उनले कोशी प्रदेशमा लगानी गर्न चाहने कसैलाई पनि सरकारबाट संरक्षण नपाएको महसुस हुन नदिने प्रतिवद्धता जनाउँदै ढुक्क भएर लगानी गर्न आह्वान समेत गरे ।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले भारतको विहार र तालिमनाडुको तुलना गर्दै संघीय सरकारको आज्ञा सिरोपर गरेर बस्ने विहार विकासमा पछि पर्दा अहिले केन्द्र सरकार र अन्य प्रदेशका लागि समेत बोझ भइरहेको र तामिलनाडु जस्ता प्रान्तहरुले सरकारविरुद्ध कानुनी लडाई लडेर पनि आफ्नो अधिकार प्रयोग गर्न सकेकोले विकासमा फड्को मारेको बताए । 

कोशी प्रदेशले विहारको बाटो नलिएर समयमा नै तामिलनाडु जस्ता राज्यबाट सिक्न सकेमा अन्य सबै प्रदेशलाई विकास र समृद्धिको नमुना देखाउन सकिने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्राथमिक र द्वितियक तथ्याङ्क संकलन र विश्लेषण गरेर पाश्र्वचित्र तयार गरिएको जानकारी दिए । 

तथ्याङ्क संकलनको कार्य कहिले पनि पुर्ण नहुने तथा निरन्तरको प्रयोग र अध्यावधिक गर्ने प्रक्रियाबाट यसको उपयोगिता बढ्ने भएकोले पाश्र्वचित्रलाई निजी क्षेत्रबाट अशल उद्देश्यले गरिएको सुरुवातमा लिन आग्रह गरे ।

पाश्र्वचित्र तयारीका क्रममा संकलित तथ्याङ्कमा आधारित रहेर तथ्याङ्क व्यवस्थापन प्रणाली पनि तयार गरिएकोले त्यसलाई पुर्णता दिने क्रममा पाश्र्वचित्रका कमी पूर्ति गर्न त्यसबाट योगदान पुग्ने अपेक्षा रहेको पनि उनले जानकारी दिए ।

यसैगरी, प्रकाशित पाश्र्वचित्रमा कोशी प्रदेशको भुगोल र पर्यावरण, जनसांख्यिक झलक, आर्थिक सामाजिक अवस्था, जिल्लागत छ भने प्रदेशको आर्थिक क्षेत्रको तथ्यांकलाई रियलटाइम अद्यावधिक गर्ने व्यवस्थाका लागि कोशी प्रदेश सरकासंग सहकार्य गरेर काम गर्न तयार रहेको राउतले बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्याम भण्डारीले निजी क्षेत्रले गरेको प्रयासमा हातेमालो गर्दै नेपाल उद्योग वाणिज्य महासंघले तयार गरेको पाश्र्वचित्रमा समेटिएका आर्थिक सामाजिक तथ्याङ्क सरकारको नीति निर्माणमा उपयोगी हुने बताए ।

तथ्याङ्क संकलन र व्यवस्थापनको कार्यमा प्रदेश सकारले उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रका संघ संगठनसँग हातेमाले गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.जगदिशचन्द्र पोख्रेलले कोशी प्रदेशमा लगानीका अनेक सम्भावना भएकोले यसलाई प्रदेशको विकास र समृद्धिसँग जोड्न सबै पक्षका बीच  बृहत्तर साझेदारी आवस्यक रहेको बताए ।

पाश्र्वचित्र तयारीका क्रममा प्रदेशको आर्थिक बृद्धि सम्भाव्य क्षेत्र, बस्तु तथा सेवा पहिचान गरी त्यसको प्रतिवेदन प्रदेश सरकारमा हस्तान्तरण, लगानीको वातावरण निर्माणका नीतिगत वातावरण तयारीमा रहेका कमी तथा सवल पक्षको अध्ययन, प्रदेशको प्रथम आवधिक योजना कार्यान्वयनको समीक्षा, उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमीहरुको सीप विकास,  प्रदेशबाट निर्यात सम्भाव्यता भएका केही बस्तुको बारेमा अध्ययन लगायतका कार्य भएको जानकारी दिइएको थियो । 

कार्यक्रममा लगानी बोर्डका पुर्व प्रमूख कार्यकारी अधिकृत राधेश पन्त, साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स  इन्भाइरमेन्ट (साउती) का कार्यकारी निर्देशक डा. पारस खरेल कम्युनिटी इन्गेजमेन्ट्स् एण्ड आउटरिचका अनिरुद्र न्यौपाने लगायतले कोशी प्रदेशमा लगानी प्रवर्द्धन, उद्यमशीलता विकास, जलवायु वित्त, वैदेशिक व्यापार लगायतका विषयमा प्रस्तुति गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update