Odapalika - The Fourth Estate - चौथो अंग
ओलीको नजिरले उद्धव थापा नै कार्यवाहक मुख्यमन्त्री

काठमाडौँ । सर्वाेच्च अदालतको आजको संवैधानिक इजलासले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्त गैरसंवैधानिक रहेको भन्दै बदर गर्न आदेश दिएको छ । 

सर्वाेच्चको यो आदेशसँगै कोशी प्रदेशका कार्यवाहक मुख्यमन्त्री को हो भन्ने प्रश्न उठेको छ । सर्वाेच्चले आजको आदेशमा ‘जुन विन्दुबाट संविधानको पालना र प्रयोगमा त्रुटी भएको हो, सोही विन्दुबाट प्रक्रिया अघि बढाउनु’ भनिएको छ ।

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले सर्वाेच्चको यही ‘जुन विन्दुबाट...’ भन्ने आदेशलाई आधार मानेर आफू नै कार्यवाहक मुख्यमन्त्री रहेको दाबी गरेका छन् । किनभने थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुअघि कार्की नै मुख्यमन्त्री थिए ।

यद्यपि, सर्वाेच्चले आजको आदेशमा कामचलाउ मुख्यमन्त्री उद्धव थापा नै भएको प्रष्ट पारेको छ ।

सर्वाेच्चले आदेशको बुँदा नम्बर १२ (ग) मा भनेको छ – ‘उपरोक्त प्रकरण (ख) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त हुने नै भएकाले रिट निवेदकको माग बमोजिम अहिले नै निज रिट निवेदकलाई ‘‘सरकारको नेतृत्व गर्ने अवसर दिलाउनु’’ भनी रिट आदेश जारी गरिरहन परेन ।’

hikmat1690462492.PNG

सर्वाेच्चको यही आदेशले उद्धव थापाको नियुक्ति गैरसंवैधानिक भए पनि हिक्मत कार्कीलाई कार्यवाहक मुख्यमन्त्री बन्ने बाटो भने खुलाएको छैन । अर्थात थापा नै कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा छन् ।

यस्तै, यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चले परमादेश दिदा पनि ओलीको नियुक्ति असंवैधानिक भएपनि उनलाई नै कार्यवाहक प्रधानमन्त्री स्वीकार गरेर नयाँ प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update