Odapalika - The Fourth Estate - चौथो अंग
उदयपुर सिमेन्ट उद्योगलाई अर्थमन्त्रीको प्रश्न : निजी नाफामा जाँदा सरकारी चाहीँ किन बन्द ?

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताएका छन् । बुधबार उद्योग र उद्योगले प्रयोगमा ल्याएको खानी निरीक्षण गर्दै मन्त्री डा. महतले यो महत्वपूर्ण उद्योग सञ्चालनमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए । सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको निरीक्षणका क्रममा मन्त्री डा. महतले बताए ।

‘सरकारले अनुदान दिएर मात्र समाधान निस्कदैन । व्यवस्थापन सुध्रिनुपर्यो, श्रमिकले जिम्मेवारीबोध गर्नुपर्यो । कसले जिम्मेवारी बोध नगर्दा यो अवस्था सिर्जना भयो ? यसको हामी सबैले मूल्यांकन र विश्लेषण गरौं । विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्छ’, उनले भने । 

उनले निजी सिमेन्ट उद्योगहरुले नाफा गर्दा सरकारी स्वामित्वमा सञ्चालित सिमेन्ट उद्योगको अवस्था बिग्रिएको भन्दै चिन्ता समेत व्यक्त गरे । 

‘निजी क्षेत्रमा धेरै उद्योग व्यवसाय सञ्चालन हुन्छ । पाँच दर्जनभन्दा बढी निजी क्षेत्रको सिमेन्ट उद्योग छ । व्यवस्थापन र सरकारले ध्यान नदिएको श्रमिक साथीहरुबाट आयो’ उनले भने, ‘निजी क्षेत्रले आफैले जमिन किन्छ, उद्योग आफै बनाउँछ, ऋण लिएर मेसिन किन्छ र सञ्चालन गर्छ । सबै सञ्चालन खर्च तिरेर पनि नाफा कमाउँछ ।’

उदयपुर सिमेन्ट कारखाना जापान सरकारले सहयोग गरेको हो । त्यसबेला ४४ करोड लगानी भएको छ । अहिले पनि एक अर्ब रुपैयाँको साउब्याज केही भुक्तानी गरेको छैन । 

उनले भने, ‘सरकारले व्यवस्थापक नियुक्ति गर्यो, त्यहाँ पनि कमजोरी छ । व्यवसायिकतालाई हामीले महत्व दिएनौं । व्यवस्थापनको नेतृत्व पनि त्यस्तै । श्रमिकले पनि हाम्रो जिम्मेवारी भनेको त सुविधा माग गर्ने हो भन्ने मात्र ठाने । त्यसको साझा परिणाम उद्योगको अहिलेको अवस्था हो ।’ 

उनले कोभिड पछि उद्योगको अवस्गा बिग्रीएको भनिएतापनि त्यसमा सत्यता नरहेको दाबी गरे । ‘कोभिडपछि मात्र यस्तो भएको हो भन्ने ठाउँ छैन । त्योभन्दा अगाडिदेखि नै समस्या थपिँदै आएको थियो । कोभिड तत्कालिक समस्या हो । समस्या आयो भनेर जिम्मेवारीबाट पन्छिने अवस्था पनि छैन । हामी सबै सुध्रिनेबाहेक अर्को विकल्प छैन’ उनले भने, ‘मेरोभन्दा पनि अझ बढी महत्व दिएर यसको सम्पत्ति रक्षा गर्नुपर्छ भन्ने मानसिकता हामीसँग भएन । यसैकारण नेपालमा सार्वजनिक क्षेत्र सफल हुन सकेको छैन ।’ 

व्यवस्थापन र ट्रेड युनियनबाट प्रतिबद्धता आएन भने उद्योग बचाउन कठिन हुने उनको भनाइ थियो । ‘उद्योग बचाउने प्रतिबद्धता गर्ने हो भने समयसँग नयाँ प्रविधिको उपयोग गरेर धेरै काम गर्न सकिन्छ । उदयपुर जिल्लाकै अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको यस उद्योग बचाउनुपर्छ भन्ने मानसिकता बोकेर काम गरियो भने सरकारले पनि सहयोग गर्छ’, उनले भने । 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update