Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीयका पशुपक्षी र माछा गन्न निस्कियो ललितपुर महानगरपालिका 

ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका पशुपक्षी र माछाको तथ्यांक संकलन थालेको छ । 

महानगरको टोलीले आजबाट स्थानीयवासीले घरमा पालेका पशुपक्षी र माछाको तथ्यांक संकलन थालेको महानगरको पशु सेवा शाखाका प्रमुख राजेन्द्र बिष्टले वडापालिकालाई बताए । 

उनका अनुसार महानगरभित्र भएका गाईभैँसी फार्म, कुखुरा फार्म, मत्स्यपालन फार्मसहितको एकीकृत तथ्यांक संकलन गर्न टोली खटाइएको हो । यसका लागि २ जना गणकहरुले घरघरमा पुगेर पशुपक्षीको तथ्यांक संकलन गर्नेछन् । 

महानगरभित्र व्यावसायिक पशुपालनको अवस्थासहित निर्वाहमुखी पशुपालनसमेतको तथ्यांक संकलन गरेपछि कृषकहरुलाई आवश्यक पर्ने प्राविधिकलगायतका तालिम दिन सहयोग पुग्ने विष्टको भनाइ छ । 

महानगरले सीपसँगै व्यावसायिक पशु तथा मत्स्यपालनमा संलग्नलाई अनुदानलगायतको सहयोग गर्नसमेत यो तथ्यांकले सहयोग पुग्ने विष्टको भनाइ छ । महानगरले ५ वर्षअघि पनि यस्तो तथ्यांक संकलन गरेको उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update