Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ उपत्यका ३ हजार सीसी क्यामेराको निगरानीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा तीन हजारभन्दा बढी सीसी क्यामेरा जडान भएका छन् । प्रहरीले सरकारी निकायहरु र सामाजिक तथा सामुदायिक संघसंस्थाहरुसँगको सहकार्यमा सीसी टिभी क्यामेरा जडान गरेर २४सै घण्टा सहरको निगरानी गरिरहेको छ । 

बढ्दो विकृति, विसंगति र अपराध अन्त्य गर्न तथा त्यस्ता आपराधिक घटनाको छानविन र अनुसन्धानमा मद्धत पु¥याउने उदेश्यले समुदायसँग मिलेर काम गरिरहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले बताए । 

‘काठमाडौँ र ललितपुर महानगरपालिका एवम् बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सीसी क्यामरा जडानको कामलाई उच्च प्राथमिकता दिएका छौँ, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न सकिन्छ,’ बुधबार टोखामा आयोजित कार्यक्रममा उनले भने, ‘प्रहरीले अहिले नै तीन हजारभन्दा धेरै सीसी क्यामेरा जडान गरिसकेको छ ।’

उनका अनुसार अब लगत्तै काठमाडौँ र बूढानीलकण्ठमा थप पाँच सय सीसी क्यामेरा जडान गर्ने तयारी छ । काठमाडौँ उपत्यकाका विभिन्न चोकहरुमा जडान गरिएका सीसी क्यामेराका कारण शहरी क्षेत्रमा भएका अपराधको अनुसन्धानमा समेत उल्लेख्य मद्धत पुगिरहेको उनले बताए । 

‘शहरमा अपराधका विभिन्न घटनाहरु हुन्छन् । सीसी क्यामेराले हामीलाई त्यस्ता घटनामा अनुसन्धान गर्न र अपराधीसम्म पुग्न सहयोग पुगेको छ, सीसी क्यामेरा जडानपछि अपराध अनुसन्धानमा सफलता पाएका उदाहरण प्रस्तुत गर्दै एआईजी थापाले भने, ‘क्यामेरा जडान गरेपछि सम्बन्धित क्षेत्रका बासिन्दाहरुलाई पनि ढुक्क हुन्छ ।’

प्रहरी एक्लैले समुदायलाई अपराधबाट मुक्त गर्न नसक्ने भन्दै उनले त्यसका लागि समुदायको पनि सहकार्य र सहयोग आवश्यक हुने बताए ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update