Odapalika - The Fourth Estate - चौथो अंग
भवनको नक्सा पास के हो ? किन पास गर्नुपर्छ ? 

कुनै पनि भवन निर्माण गर्नका लागि राष्ट्रिय भवन संहिताका साथै तहगत सरकारबाट तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरी गाउँपालिका तथा नगरपालिकाबाट कुनै व्यक्ति वा निकायलाई निर्माण हुने भवनको नाप, नक्सा, डिजाइन समेतको विवरण उल्लेख गरी निर्माण अनुमति दिने कार्यलाई नक्सा पास भनिन्छ । 
मूलतः नागरिकको सुरक्षा र आधारभूत सुविधा प्रत्याभूत गर्दै व्यवस्थित वस्ती विकास कार्यलाई सुनिश्चित गर्न नक्सा पास गरिन्छ । यसबाट नागरिकको वसोवासको अभिलेखका साथै नागरिकलाई उपलव्ध गराउनु पर्ने सेवा सुविधा समेत निर्धारण गर्न सहयोग पुग्दछ । 
निवेदकले भवनको नक्सा सहित गाउँपालिका वा नगर पालिकाले तोकेको ढाँचामा दरखास्त दिनुपर्छ । रितपूर्वक प्राप्त दरखास्त बमोजिम भवन निर्माणबाट संधियार कसैलाई मर्का पर्ने भए विवरण खुलाई १५ दिनभित्र उजुर गर्नका लागि कार्यालयमा, संधियारको घरदैलोमा र भवन निर्माण हुने ठाउँमा सबैले देख्ने गरी सूचना टाँस गर्नुपर्छ । 
सूचनाको म्याद नाघेको ३ दिनभित्र नेपाल सरकारले तोकेको बस्ति विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड बमोजिम भवन निर्माण गर्न मिल्ने वा नमिल्ने कुराको जाँचबुझ गरी सम्बन्धित कर्मचारीले प्रतिवेदन पेश गर्नु पर्ने हुन्छ । प्रमुख प्रशासकीय अधिकृतले रितपूर्वकको विवरण र प्रमाण पुगेको ७ दिनभित्र भवन निर्माणको अनुमति दिनुपर्छ ।
नक्सा पास गर्ने प्रावधान नभएका साविकका गा.वि.स.हरूमा निर्माण भएका भवनहरू नेपाल सरकारबाट जारी वस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ बमोजिम स्थानीय तहले तोकेको प्रकृया अनुसार अभिलेख दर्ता गराउनु पर्छ । अभिलेखिकरण नभएका भवनहरू सरकारी प्रयोजनका लागि भाडामा लिन वा दिन पाइने छैन ।
नक्सा पास गर्ने प्रावधान नभएका साविकका गा.वि.स.हरूमा निर्माण भएका भवनहरू नेपाल सरकारबाट जारी वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को व्यवस्था बमोजिम स्थानीय तहले तोकेको प्रकृया अनुसार अभिलेखमा दर्ता गराउनु पर्छ । अभिलेखिकरण नभएका भवनहरू सरकारी प्रयोजनका लागि भाडामा लिनदिन पाइदैन । 
नेपाल सरकारबाट जारी वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को बुँदा १३.११ बमोजिम आवासीय वा मिश्रित आवासीय भवनको हकमा २०७२ सालअघि कित्ताकाट भई सकेकाको ८० वर्ग मिटरसम्मका क्षेत्रफल भएको घडेरीमा ९० प्रतिशत र सो मिति भन्दा पछि कित्ताकाट भएका र २५० वर्गमिटरसम्म क्षेत्रफल भएको घडेरीको ७० प्रतिशत र सोभन्दा बढी क्षेत्रफल भएको घडेरीको ६० प्रतिशतभन्दा बढी भवनको भुईँ तलाले चर्चिने क्षेत्रफल नहुने गरी स्वीकृति दिनु पर्ने नियम छ । 
आवासीय वा मिश्रित आवासीय भवन बाहेक सरकारी, अर्धसरकारी सार्वजनिक भवनहरूलाई भवन निर्माण स्वीकृति दिँदा भवनको भुइँतलाले चर्चिने क्षेत्रफल जग्गाको क्षेत्रफलको ५० प्रतिशतभन्दा बढी नहुने गरी अनुमति दिनु पर्ने व्यवस्था छ ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update