Odapalika - The Fourth Estate - चौथो अंग
फोहोर हैन माटो भेटिन्छन् काठमाडौँ महानगरका ढलमा 

काठमाडौँ । सतहको पानी निकासका लागि सडक किनारामा बनाइएका ढल, मंगाल र नाली सफा गर्दा ७९२ मेट्रिक टन माटो निस्किएको काठमाडौंँ महानगरपालिकाले जनाएको छ । 

चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘डुवान समस्या समाधान’ कार्यक्रम कार्यान्वयन गर्दै विपद व्यवस्थापन विभागले भदौ १० गतेदेखि दैनिक ७ जना जनशक्ति परिचालन गरेर ढल, साइड डे«ेन, नाला सफाइ गरिरहेको छ । 

विपद व्यवस्थापन महाशाखाका प्रमुख एवं डुवान समस्या समाधान कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद जोशीका अनुसार, यस अवधिमा १ हजारभन्दा धेरै मंगाल खोलेर सफाइ गरिएको छ । तीमध्ये दरबारमार्ग र कुलेश्वर सडक खण्डमा मंगाल सफा गरिएका भेटिए । बाँकी सबैमा माटो भरिएको थियो ।     

अहिलेसम्ममा वडा ३२ को पेप्सीकोला आवास क्षेत्र र जडीवुटी, वडा नं. ३१ को मीनभवन पुलदेखि कोटेश्वर, कोटेश्वरदेखि बालकुमारी, बालकुमारीदेखि मनोहरा करिडोरको झोलुङ्गे पुलसम्म सफाइ गरिसकिएको छ । यसै गरी वडा नं. ३ को कान्ति बाल अस्पताल आसपास, वडा नं. ११ को ट्रली बस स्टप लाइन (त्रिपरेश्वर), वडा नं. २८ र ११ जोडिएको भृकुटीमण्डप, वडा नं. १ दरबार मार्ग सफाइ गरिसकिएको छ । वडा नं. १४ को कुलेश्वर बल्खु क्षेत्र, वडा नं. १३ को सोल्टीमोडदेखि कालीमाटी पुलसम्म सफाइ भइसकेको छ । वडा नं. १४ को कलंकी चोकदेखि नयाँ बसपार्कतर्फको सडक खण्डमा बुधबार काम भएको महानगरले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update