Odapalika - The Fourth Estate - चौथो अंग
६ करोड रुपैयाँमा बन्दैछ काठमाडौँ महानगरको वडा नम्बर ११ को कार्यालय 
प्रस्तावित वडा कार्यालय भवनकाे डिजाइन

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ११ को कार्यालय भवन निर्माणले तीब्रता लिएको छ । बागदरबारको दक्षिण पूर्वी कुनामा बागदरबारकै निर्माण शैलीमा भवन निर्माण भइरहेको छ । 

२८ मंसिरमा महानगर दिवसको अवसरमा पारेर वडाध्यक्ष हीरालाल तण्डुकारले भवनको शिलान्यास गरेका छन् ।अहिले वडा कार्यालय बबरमहलको निजी भवन भाडामा लिएर सञ्चालन भइरहेको छ । यस अघि थापाथलीमा थियो । 

‘अहिलेसम्म हामी भाडाको भवनमा बसेर सेवा दिइरहेका छौँ । बर्षौँदेखिको प्रयासपछि आफ्नै प्रशासनिक भवन निर्माण हुनु वडाबासीका लागि खुशीको कुरा हो,’ वडाध्यक्ष तण्डुकार भन्छन् । 

भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बीमा रकमसहित ५ करोड ७ लाख २७ हजार रुपैयाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ । २०८१ मंसिर मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदारलाई मंसिर १२ गते कार्यादेश दिइएको छ । 

इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, ११ आना जमिनमा ७ हजार २५० स्वायरफिट क्षेत्रफलमा निर्माण हुने ४ तलाको भवन बागदरबारकै शैली र उचाइको हुनेछ । भवनको भित्री सुविधा आधुनिक हुनेछ । भवनको भुइँ तला १ हजार ६३० दशमलव ८१ स्क्वायर फिटको हुनेछ । 

यस तला सेवा प्रवाहका लागि प्रयोग हुनेछ । पहिलो तलामा वडाध्यक्ष, वडा सचिव र इञ्जिनियरको कक्ष हुनेछन् । दोस्रो तलामा वडा सदस्य र कर्मचारी कक्ष हुनेछ । तेस्रो तलामा स्टाफ पेन्ट्री (खाना, खाजा र रिफ्रेसमेन्ट कक्ष), मेलमिलाप कक्ष हुनेछ । यही तलामा ५० जना अट्ने सभा कक्षसमेत हुनेछ । 


 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update