Odapalika - The Fourth Estate - चौथो अंग
४० महिना ग्राउण्डेड गरेर निगमले राख्यो चिनियाँ जहाज लिलामीमा

काठमाडौँ । नेपाल वायुसेवा निगमले चिनियाँ जहाज लिलामीमा राखेको छ । ४० महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा थन्किएको जहाज निगमले पुनः लिलामीमा रोखेको हो । 

यसअघि पनि बिक्रीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा नबिकेपछि निगमले बिहीबार पुनः सूचना जारी गरेको हो । 

निगमले बिहीबार जारी गरेको लिलामीको सूचना अनुसार ३ थान वाई–१२ ई र दुई थान एमए–६० जहाज छन् । विस २०६८ सालमा चीनबाट ल्याईएको ६ थान चिनियाँ जहाज एक थान एमए–६० जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो ।

चिनियाँ जहाजको सञ्चालन खर्चसमेत धान्न नसकेको भन्दै निगम सञ्चालक समितिको बैठकले निर्णय गरेर २०७७ साउन १५ गतेदेखि उक्त जहाज ग्राउण्डेड गरिएको थियो । सञ्चालन गर्न नसक्ने भन्दै ग्राउण्डेड गरिएको ४० महिना बितिसक्दा निगमले उक्त जहाजको व्यवस्थापन गर्न अझै सकेको छैन् । 

४० महिनादेखि ग्राउन्डेड उक्त जहाजको निगमले बीमा र विमानस्थलको पार्किमा राख्दाको पार्किङ शुल्क नेपाल नागरिक उडड्यन प्राधिकरणलाई भुक्तानी गर्दै आएको छ । 

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड रहेका यी जहाज जहाँ जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न प्रस्ताव मागेको हो । जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने गरी जहाज बिक्री गर्न लागिएको निगमले जारी गरेको सूचनामा उल्लेख छ । जहाज खरिदको लागि निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात् आगामी २१ माघसम्म छ ।

ऋण तिर्न बाँकी

चीनको एक्जिम बैंकबाट तीन अर्ब ७२ करोड ऋण र दुई अर्ब ९४ करोड अनुदान गरी ६ अर्ब ६७ करोड रुपैयाँमा ६ थान चिनियाँ जहाज ल्याएको थियो । निगमले सरकारमार्फत चीनको एक्जिम बैंकलाई दुईवटा एमए–६० को एक अर्ब ६५ करोड आठ लाख ८३ हजार र चार वटा वाई–१२ को एक अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ ऋण तिर्नु बाँकी नै रहेको छ । 

४ थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो  भने २ वटा जहाज अनुदान स्वरुप नेपाललाई दिईएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update