Odapalika - The Fourth Estate - चौथो अंग
उदयरपुर सिमेन्टले जनतालाई सास्ती, वडाध्यक्ष भन्छन्– करेसाबारीको तरकारी पनि खान नहुने भयो

काठमाडौँ । उदपयुर सिमेन्टबाट निस्कने धुवाँका कारण जिल्लाको त्रियुगा नगरपालिकाका स्थानीयहरु प्रभावित बन्ने गरेका छन् । पूर्णसरकारी स्वामित्वमा सञ्चालित उक्त उद्योग सञ्चालन हुनेभन्दा बन्द हुने दिन बढी भएपनि उद्योगबाट निस्कने धुवाँ र ध्वनीका कारण समस्या भएको स्थानीयहरु बताउँछन् ।

त्रियुगा नगरपालिका वडा नम्बर ४, ५ र ६ वडाका स्थानीयहरु उद्योगबाट निष्कने धुवाँ, धुलो र ध्वनीबाट प्रभावित भएको गुनासो गर्छन् । त्रियुगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष उद्धव थापाले पछिल्लो समय उद्योगबाट निष्कने धुवाँ र ध्वनीबाट बस्नै नसक्ने अवस्था सिजर्ना भएको बताए ।

‘पहिला पनि धुलो ननिस्कने होइन, तर अहिले उद्योगमा जडान गरिएको उपकरणहरु बन्द हुँदा ब्यापक धुलो निस्कन थालेको छ । उद्योगबाट निस्कने धुँवाले घर तथा करेशाबारीमा धेरै असर गरेको छ । धुवाँ मिसिएको तरकारी खादा धेरै जना स्थानीय विरामी नै परेका गुनासाहरु आइरहेका छन्,’ वडाध्यक्ष थापाले वडापालिकासँग भने ।

उनले उद्योगमा जडान भएको उपकरण (इटी) ३ वटै चलाउँदा न्यून धुलो आउने गरेकोमा पछिल्लो समय तीन वटै इटी बिग्रिदा अत्यधिक मात्रामा धुलो निष्कने गरेको बताए । 

‘बिग्रीएका उपकरणहरु समयमै मर्मत गर्न उद्योगले पैसा छैन भन्छ, सरकारले रकम नदिदा मर्मतमा ढिलाई भयो भनेर हामीले जानकारी पाएका छौँ । पछिल्लो १२ दिनदेखि उद्योग बन्द छ, उपकरण मर्मत गर्न नसक्दा बन्द भएको हामीले जानकारी पाएका छौँ’, उनले भने ।

त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतले उद्योगका कारण कारण नगरपालिकाका ४, ५ र ६ नम्बर वडा मुख्य रुपमा प्रभावित भएको बताए ।

‘उद्योगको मुख्य कार्यालय ६ नम्बर वडामा पर्छ । तर, तीन वटा वडामध्ये सबैभन्दा बढी ५ नम्बर वडा प्रभावित बनेको छ । उद्योगका उच्च तहका कर्मचारीको बेवास्ताका कारण स्थानीयले सास्ती खेप्नु परेको छ,’ मेयर बस्नेतले वडापालिकासँग भने ।

उनले पछिल्लो समय उद्योगबाट अत्यधिक धुलो निष्कने गरेको भन्दै पटक पटक पत्राचार गरेर धुलो कम गर्न निर्देशन दिदाँ समेत सुनुवाई नभएको बताए ।

‘स्थानीयको गुनासो पश्चात अहिलेसम्म हामीले उदयपुर सिमेन्टलाई ३ पटक लिखित रुपमै पत्र लेखेर धुलो कम गर्न निर्देशन दिइसकेका छौँ । उद्योगमा कार्यकारी निर्देशक नहुँदा अहिलेसम्म धुलो कम गर्न कुनै पनि काम भएन । कर्मचारीलाई भनेर केही भएन, निर्देशन दिने सम्बन्धित अधिकारी उद्योगमा नहुँदा स्थानीयले सास्ती खेप्नुपर्याे,’ उनले भने ।

उनले उद्योगको खानी १६ नम्बर वडामा रहे तापनि खानीले खासै असर नगरेको जानकारी दिए । उद्योगका खानी १६ नम्बर वडा र रौतामाही गाउँपालिकाको वडा नम्बर ७ मा पर्छ । 

नेपाल र जापन सरकारको संयुक्त लगानीमा सञ्चालित उद्योगको मासिक उत्पादन क्षमता २४ हजार टन हो । यसअनुसार दैनिक हिसाबमा उत्पादन क्षमता ८ सय टन हुन आउँछ । तर उद्योग अधिकांश समय बन्द छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update