Odapalika - The Fourth Estate - चौथो अंग
अदालतको हस्तक्षेपपछि सुर्तीजन्य पदार्थ नियन्त्रणको नयाँ रणनीति बनाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सुर्तीजन्य पदार्थको बेचबखिन र प्रयोगमा लगाएको रोक अदालती आदेशपछि कार्यान्वयन गर्न नपाएको काठमाडौं महानगरपालिकाले नयाँ रणनीति ल्याउने भएको छ । 

यसका लागि तयारी भइरहेको महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताएका छन् । महानगरले मंसिर २७ देखि ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगमा रोक लगाएको थियो । उक्त बन्देजलाई चुनौती दिँदै परेको रिटमा तीन दिन नपुग्दै उच्च अदालत पाटनले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न महानगरलाई आदेश दिएको थियो ।

अदालती आदेशको सम्मान गर्दै अब सुर्तीजन्य पदार्थको बिक्री र प्रयोगमा नयाँ रणनीतिसहित जान छलफल भइरहेको प्रमुख पौडेलले बताए । ‘सुर्तीजन्य पर्दाथका कारण रहेको ठूलो समस्या कसैबाट लुकेको कुरा होइन । हामीले रोक लगाएको दुई दिनमा करिब २ सय किलो जफत पनि गरेका हौं,’ उनले भने, ‘जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, सहरी सौन्दर्य कायम राख्न र वातावरणीय असर न्यूनीकरण गर्न पनि यो जरुरी छ ।’ विकल्प के हुन सक्छन् भन्नेमा भइरहेको छलफलपछि महानगर नयाँ तरिकाबाट अघि बढ्ने उनले बताए । 

महानगरले जफत गरेको सुर्तीजन्य पदार्थ व्यापारीलाई फिर्ता दिएको छैन । अदालतले महानगरलाई बन्देज कार्यान्वयन नगर्न आदेश गरे पनि मंसिर २७ पछि राजधानीका विभिन्न स्थानमा सुर्तीजन्य पदार्थको बिक्री र प्रयोग भने घटेको छ । 


 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update