Odapalika - The Fourth Estate - चौथो अंग
बहुवर्षीय परियोजनाको अनुगमनमा विराटनगर महानगरका जनप्रतिनिधि 

काठमाडौँ । विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन विभिन्न योजना निर्माणका क्रममा अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्याको समाधान खोज्न पहल पनि सुरु गरेको छ ।

बहुवर्षीय योजनाअन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा मेयर नागेश कोइरालासहितको टोलीले अनुगमन गरेको छ ।

उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सम्बन्धित वडाका अध्यक्ष मधुबाबु तिवारी, वडाध्यक्ष कुमार पोखरेल, इन्जिनियर अर्जुन थापा, प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया सहभागी टोलीले निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिएको थियो । 

त्यसैगरी, टोलीले विराटनगर–४ स्थित धावाबन्दी (इक्राही) को सडकको समेत अनुगमन गरेको छ । जग्गा विवाद हुँदा सो स्थानमा सडक निर्माण अवरुद्ध भएको छ । 

टोलीले निर्माणस्थलमै पुगेर स्थानीयसँग छलफलसमेत गरेको छ । महानगरको प्राविधिकले नक्साअनुसार नापेर छुट्याएपछि निर्माण सुरु गर्ने स्थानीयसित सहमति भएको छ । 

त्यसैगरी बुधबार नै मेयर कोइराला र उपमेर कार्कीसहितको टोलीले विराटनगर–६ स्थित शान्तिचोक–केशलिया रोड सडकको समेत अनुगमन गरेको छ । महानगरको करिब ४ करोडको लागतमा निर्माण भइरहेको सो सडक चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । 

महानगरको आन्तरिक स्रोतबाट निर्माण भइरहेको उक्त सडक विएफएम दक्षिणमा नाला विवाद रहेको छ । टोलीले स्थानीय घरधनीसित छलफल गरेपछि सडक निर्माण अगाडि बढाउने समझदारी भएको छ । 

महानगरको बहुवर्षीय योजनाअन्तर्गत प्रधानमन्त्रीपार्कसहित ४ करोडभन्दा माथिको लागतमा मण्ठापोखरी, रानीपोखरी, बाल उद्यान, सन्ध्याकालीन आरती, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालयलगायत धमाधम निर्माण भइरहेको छ ।


 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update