Odapalika - The Fourth Estate - चौथो अंग
कर्मचारी अभाव झेल्दै गाउँका सिंहदरवार, लमजुङका ३९ वटा वडा सचिवबिहीन 

काठमाडौँ । लमजुङ जिल्लाका विभिन्न स्थानीय तहका ३९ वटा वडा सचिवबिहीन बनेका छन् । सचिव नहुँदा व्यक्तिगत घटना दर्तादखि लिएर जनताका विभिन्न काममा समस्या परेको छ । 

४ नगरपालिका र ४ वटा गाउँपालिकामा गरी लमजुङका स्थानीय तहमा जम्मा ७५ वटा वडा छन् । यीमध्ये जम्मा ३६ वटा वडामा मात्र वडासचिव कार्यरत छन् । 

वडासचिव नभएकै कारण सो सेवाबाट बञ्चित हुनुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । सरकारले कर्मचारी समायोजन गर्न नसकेका कारण र कर्मचारी सेवासुविधा खोज्दै अन्यत्र स्थल रोज्ने गरेका कारण वडासचिवको अभाव भएको जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर गुरुङले बताए ।

वडासचिव नहुँदा एउटै वडाअध्यक्षलाई एकभनदा वढी वडा हेर्नेगरी कामकाजको जिम्मेवारी दिइएको छ । जसका कारण सेवाग्राहीले भनेको समयमा आफ्नो काम नभएको गुनासो गर्ने गरेका छन् । 

वडासचिव नहुँदा स्वास्थ्य तथा पशुका कर्मचारीलाई सचिवको काममा खटाइएको छ । तर ती कर्मचारीहरुबाट सचिवबाट हुनुपर्ने काम हुन नसकेको स्थानीयको गुनासो रहेको गुरुङ बताउँछन् । 

कर्मचारीले सुगम क्षेत्र रोज्ने गरेका कारणपनि स्थानीय तहहरु वडासचिवबिहीन बन्न पुगेको उनको भनाइ छ । 

कर्मचारी समायोजनपछि  भएका वडासचिवको समेत सरुवा भइसकेको छ । तर रिक्त स्थानमा अहिलेसम्म सचिव पठाइएको छैन । 

वडासचिव नहुँदा एउटै कामकाजका लागि एक दिन खर्चेर वडाको काम नगरपालिका पुगेर गरेर आउनुपर्ने वाध्यता रहेको बेँसीसहर नगरपालिका–११ का ईश्वरराज सेढाईंको गुनासो छ । 

सो वडाका वडाध्यक्ष शिव जोशी वडासचिव नहुँदा नागरिकलाई वडा कार्यालय आउन र जान दुःख मात्र हुने गरेको बताउँछन् । उनको वडामा १० महिनादेखि वडासचिव छैनन् । 

वडाको कामका लागि नगरपालिकाको कर्मचारीलाई तोकिए पनि वडासचिवको हस्ताक्षर तथा पञ्जीकरणको कामका लागि वडाबाट पालिका जानुपर्ने बाध्यता भएको उनको भनाइ छ । वडासचिव नभएकै कारण सेवाग्राहीहरु ६ सय रुपैयाँसम्म गाडीभाडा खर्चेर नगरपालिकाको कार्यालय पुग्नुपर्ने वाध्यतामा छन् । 

क्व्होलासोथर गाउँपालिकाका अधिकांश वडा सचिवबिहीन छन् । पालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ पालिकाको अधिकांश वडामा सचिव नहुँदा सेवाग्राहीलाई समस्या भइरहेको बताउँछन् । वडा सचिव नहुँदा पालिकाभित्रकै आन्तरिक कर्मचारीलाई खटाएर काम गराइरहेको उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update